STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अध्यक्ष दाहाल – वाङ् भेटः नेपाल–चीन सम्बन्धबारे छलफल

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २४, मंगलबार

नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले आज नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गर्नुभएको छ । होटल मेरियटमा भएको सो भेटमा उहाँहरुबीच नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो । भेटमा दुई देशबीच रहँदै आएको सदियौँदेखिको सम्बन्धलाई वर्तमान परिस्थितिमा थप सुदृढ गर्ने विषयमा छलफल भएको अध्यक्ष दाहालले जानकारी दिनुभयो । भेटपछि उहाँले सञ्चारकर्मीसँग भन्नुभयो, “नेपालको आर्थिक विकासको प्रयासमा चीन सरकार र चिनियाँ जनताबाट हुने सहयोग र नेपालको अपेक्षाका बारेमा विस्तृतमा कुराकानी भयो ।” नेपाल र चीन सरकारकाबीच हुने सहकार्य र सहयोगको क्षेत्रलाई विस्तार गर्ने विषयमा समेत छलफल भएको उहाँले बताउनुभयो । उहाँहरुबीचको भेटमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा पनि छलफल भएको थियो । “नेपालको समग्र विकासमा चिनियाँ विदेशमन्त्रीको अत्यन्त सकारात्मक, उत्साहवर्दक विचार पाएँ, मलाई विश्वास छ, आउने दिनमा नेपाल चीनसम्बन्ध अझ सुदृढ भएर जानेछ ।” भेटमा नेपाल र चीनबीच आर्थिक क्षेत्रमा भइरहेका सहयोगलाई गुणात्मक ढङ्गबाट अगाडि बढाउनुपर्ने भन्नेमा पनि छलफल भएको अध्यक्ष दाहालले बताउनुभयो । चिनियाँ सहयोगमार्फत नेपालको आर्थिक विकासको प्रयासमा ठूलो मद्धत पुग्ने विश्वास लिएको अध्यक्ष दाहालले बताउनुभयो । भेटमा उहाँहरुबीच नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई पनि अझ विस्तार र सुदृढ गर्ने विषयमा छलफल भएको थियो ।
Categorized in राष्ट्रिय