आजबाट फेरि जाेर-विजाेर लागू, रातमा हिँडडुल गर्न नपाइने
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २१, बुधबार
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै सरकारले आज बिहीबारदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले एक विज्ञप्तिमार्फत यसबारे जानकारी दिएका छन् । विज्ञप्तिमा उल्लेख छ- काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र उपत्यकाबाहिर २०० जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा जोर विजोर लागू हुनेछ ।
जोर गतेका दिन जोर नम्बर प्लेटका सवारीसाधन र विजोर गतेका दिन विजोर नम्बरका सवारीसाधन चलाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
तर कोरोना संक्रमणको जोखिम बढेसँगै विज्ञहरुले जोर विजोर लागू गर्न सुझाएका थिए । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको छलफलमा पनि विज्ञहरुले पूर्ण लकडाउन गर्नुको साटो स्वास्थ्य मापदण्डमा कडाई गर्न र जोरविजोर लगाउन सुझाएका थिए
सरकारले भोलिदेखि राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा पनि रोक लगाएको छ । साथै स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने, मास्क नलगाउनेलाई दण्ड जरिवाना गर्ने निर्णय पनि गरेकाे छ ।
सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो । यस्तै भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो ।
Categorized in राष्ट्रिय