STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उखु किसानले भुक्तानी नपाए सांसद मोदी अनसन बस्ने

Janjati Khabar – Janjati Khabar | २०७८ पौष २०, मंगलबार

२० पुस, काठमाडौं - सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले सरकारले तत्काल उखु किसानहरुको बक्यौता रकम भुक्तानी नगरे माइतीघर मण्डलामा आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।

सांसद मोदीले उखु किसानहरुले पटक–पटक आन्दोलन गर्दा पनि सरकारले उनीहरुलाई भुक्तानी नदिएको भन्दै अव आफै आमरण अनसनमा बसेर भुक्तानी दिलाई छाडने अठोट समेत व्यक्त गरे ।

उखुको बक्यौता रकम भुक्तानी नभए सरकारको घुँडा टेकाउने

मंगलबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले उखु किसानहरुको भुक्तानीको समस्या तत्काल समाधान नभए सांसदहरु आफैले आन्दोलन गरेर सरकारलाई घुडा टेकाउने बताए ।

सांसद मोदीले उखु किसानहरुको भुक्तानी दिलाउने गरी आवश्यक मोडल बनाउन सरकारलाई कुनै समस्या नरहेको दावी समेत गरे । सांसद मोदीले भने ‘अव मजदुरहरु, किसानहरुको बारेमा राज्यले सुन्दैन भने संसद त चलेन । संसद चलेको छैन । अवरोध छ ।

अव किसानहरुले आन्दोलन गर्नुपर्दैन । हामी आन्दोलन गर्छौ, माईतीघर मण्डलामा । अनसन हामी बस्छौं । आन्दोलन गर्छौ । यो चाँही घोषणा हो । यदि हामी सांसदहरु नै अनसन बस्यौ भने म त बस्छुबस्छु । तपाईहरुले यो कुरा सल्टयाउनु भएन भने हामी आमरण अनसन बसेर पनि, आन्दोलन गरेर पनि तपाईहरुलाई घुडा टेकाउछौं ।’

सरकारले भुक्तानी तत्काल दिनुपर्छ

बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले उखु किसानहरुको भुक्तानी तत्काल गर्न सरकारलाई सचेत गराए । उनले कुनै पनि किसानले फेरी आन्दोलन गर्नु नगर्ने गरी सरकारले उनीहरुको समस्या समाधान गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे ।

 

नेकपा (माओवादी केन्द्र)की अर्का सांसद धर्मशीला चापागाँईले समितिले पटक पटक उखु किसानको भुक्तानी गर्न दिएको निर्देशन सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाइन । उनले सरकारले किन उखु किसानहरुलाई भुक्तानी दिन नसकेको ? भनि पटकपटक प्रश्न समेत गरिन् ।

यता, सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले आफ्नो मन्त्रालयले उखु किसानहरुको भुक्तानीका लागि प्रयास गरिरहेको बताए ।

करिव १ अर्व ७० करोड उखु किसानहरुको भुक्तानी हुनुपर्नेमा आफ्नो मन्त्रालयले करिव ८ करोडमा झारेको पनि उनले समितिलाई जानकारी गराए ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द्रप्रसाद शर्माले उद्योगहरुको दायित्वमा रहेको उखु किसानलाई दिने भुक्तानी सरकारले दिन नमिल्ने बताए । उनले ती समस्या समाधानका लागि सरकार लागि परेको पनि बताए ।

अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुस्करले उखु किसानहरुको समस्या समाधान लागि आफ्नो मन्त्रालय प्रतिवद्ध रहेको बताए । उनले कृषि क्षेत्रको विकासमा लगानी बढाउन अर्थ मन्त्रालयले आवश्यक बजेटको व्यवस्था गर्ने बताए ।

सचिव पुस्करले उखु किसानहरुको भुक्तानीको समस्या समाधानका लागि उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग छलफल भईरहेको पनि बताए ।

Categorized in राजनीति