STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपनिर्वाचन २०७६ ः निर्वाचन आयोगको कार्यालय स्थापना

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २१, बिहिबार

बाराको बारागढी गाउँपालिका– १ मा वडाध्यक्षका लागि यही मङ्सिर १४ गते उपनिर्वाचनका लागि गाउँपालिकाको केन्द्र खोपवामा निर्वाचन आयोगको कार्यालय स्थापना गरिएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिपरा वसन्तपुर र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वसन्तपुरमा गरी दुई मतदान केन्द्रमा तीन मतदानस्थल रहेको वडामा दुई हजार ३६६ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्रराज अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार पिपरा वसन्तपुर मतदान केन्द्रमा एक हजार ३०९ र वसन्तपुर मतदान केन्द्रमा एक हजार ५७ मतदाता छन् । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोख्रेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख विकासराज खनाल, जिल्लाका अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा निर्वाचन कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयका मनिषकुमार साहले जानकारी दिनुभयो । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित वडाध्यक्ष नन्दलाल रायको २०७५ साल मङ्सिर १४ गते मृत्यु भएपछि वडा नं १ मा वडाध्यक्ष रिक्त थियो । नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित वडाध्यक्ष रायको निधनपछि अहिले ज्येष्ठ वडा सदस्यको नेतृत्वमा वडाको गतिविधि सञ्चालन भइरहेको छ । उपनिर्वाचनलाई लिएर स्थानीय सुरक्षा व्यवस्थामा आफूहरुले पनि विशेष ध्यान दिएको गाउँपालिका अध्यक्ष देवदत्त बछार थारुले बताउनुभयो । जिल्लामा हुने एक मात्र स्थानमा उपनिर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय बाराले प्रति निर्वाचन केन्द्रमा प्रहरी निरीक्षकको नेतृत्वमा करीब १०० प्रहरी परिचालन गर्ने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक खनालले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय