एमाले बैठक १० बुँदे सहमतिमा टुंगियो, निर्वाचित कमिटीलाई २ जेठ २०७५ को अवस्थामा पुर्याइने
Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २७, आइतबार
नेकपा एमालेको एकता प्रक्रिया टुंग्याउन गठित कार्यादलको बैठकले १०बुँदे सहमति जुटाएको छ ।
आइतबारसिंहदरबारमा १२ घण्टाभन्दा बढी भएको छलफलपछि कार्यदलले एकता टुंगोमा पुर्याउन १०बुँदे सहमति गरेको हो । १०बुँदे सहमतिमा पार्टीको नवौं महाधिवेशन अनुसार निर्वाचित कमिटीलाई २ जेठ २०७५ को अवस्थामा पुर्याइने उल्लेख छ । यस्तै एकतासँग मेल नखाने निर्णयहरू बदर गरिने मस्याैदामा उल्लेख छ ।
यस्तै नेकपामा रहँदाकै हैसियत एमालेमा आएका नेताहरूलाई प्रदान गर्न कार्यदल सदस्य सहमत भएका छन् । सर्वोच्च अदालतको एमाले ब्युँताउने आदेशपछि पार्टीमा आएकाहरूलाई नेकपाकालीन पदमै समावेश गरिने निर्णय कार्यदलले गरेको छ ।
नेता-कार्यकर्ताहरूको व्यवस्थापनका लागि केन्द्रीय कमिटीको १० प्रतिशतले नबढ्ने गरी मनोनीत गर्ने सहमति भएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए । पार्टीका जनसंगठनहरूलाई पूर्ववत् अवस्थामा फर्काउन र महाधिवेशनका लागि कार्यदल गठन गर्ने सहमति नेताहरूबीच भएको छ ।
यस्तै यी निर्णय अनुमोदनका लागि पार्टीको विधान महाधिवशेन छिट्टै गर्ने सहमति कार्यदल सदस्यहरूबीच भएको छ । सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै एकताबद्ध रूपमा अघि बढ्ने निर्णय कार्यदल सदस्यहरूले गरेका छन् । यी निर्णयलाई अनुमोदनका लागि छिट्टै स्थायी कमिटी बैठक बोलाउन कार्यदलले सुझाएको छ ।
यी सहमतिका बुँदामा एमाले अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपालले हस्ताक्षर गर्न भने बाँकी छ ।



