STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

करको भार थोपारेकोमा असन्तुष्टिः महासङ्घ

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १९, बिहिबार

सामुदायिक वन उपभोक्ता महासङ्घले सामुदायिक वनमाथि करको भार थोपारेकोमा असन्तुष्टि जनाएको छ । महासङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा राज्यका तीन वटै तहका सरकारले सामुदायिक वन उपभोक्ता समूहमाथि कर बढाएको भन्दै महासङ्घले त्यसको विरुद्धमा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । महासङ्घका अध्यक्ष भारती पाठकले सामुदायिक वनबाट कर लिनेगरी कानून निर्माण गरेकाले त्यसलाई तत्काल संशोधन गर्नका लागि तीन वटै तहका सरकारलाई आग्रह गर्दैै संशोधन नगरे त्यसको विरुद्धमा सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो । उपभोक्तालाई कर थोपर्ने गरी कानून नबनाउन प्रदेश नं। ३ सरकारलाई आग्रह गर्दागर्दै पनि त्यस्तो कानून ल्याएको उल्लेख गर्दै उहाँले केही दिनभित्र महासङ्घको केन्द्रीय समितिको बैठकबाट आन्दोलनको घोषणा गर्ने जानकारी दिनुभयो । कर तिर्नका लागि आफूहरु तयार रहेको तर, तीन तहका सरकारलाई एकद्वार प्रणालीबाट कर तिर्ने वातावरण तयार गर्नका लागि पटकपटक सङ्घीय सरकारलाई आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएपछि त्यसका विरुद्धमा लाग्न बाध्य भएको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सामुदायिक वन नाफा खाने संस्था नभएकाले करको भार थोपार्नु जायज नभएको महासङ्घका उपाध्यक्ष भीमप्रकाश खड्काले बताउनुभयो । एकैपटक देशभरका वन उपभोक्ता सडकमा उतार्ने तयारीमा महासङ्घ लागेको उहाँले बताउनुभयो ।
Categorized in राष्ट्रिय