STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कर्णालीसम्म पुग्छ बाँकेका ईंटा

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १७, शुक्रबार

नेपालगञ्जको पुरानो बजार एकलैनी, सदरलाइन, त्रिभुवन चोक जस्ता बस्ती सयौं वर्षअघि बने । ईंटाको पर्खाल र ईंटाकै ढलान भएका घरहरु अहिले पनि देख्न सकिन्छ । यी घरहरु बन्ने बेलामा नेपालगञ्जमा ईंटा पाइँदैन्थ्यो । घर बनाउनका लागि भारतबाट ईंटा ल्याउनुपथ्र्यो । विसं २०६४ साल अघिसम्म भारतको बाबागञ्जबाट नेपालगञ्जमा ईंटा भित्रिन्थ्यो । त्यहाँबाट ल्याइएका ईंटाबाट यहाँका धेरै घर बने । बाबागञ्जको ईंटाले सुर्खेतसम्म बजार लियो । भारतीय ईंटा नल्याएसम्म घर नै बन्दैन भन्नेसम्मको सोचाइ नेपालगञ्जवासीमा थियो तर, अब ती दिन एकादेशको कथाजस्तै भइसकेका छन् । एक दशकयता भारतीय ईंटा बाँके भित्रिन छाडेको नेपाल ईंटा उद्योग व्यवसायी सङ्घ बाँकेका अध्यक्ष जैनुल खाँ बताउनुहुन्छ । “बाँकेकै उत्पादनले पुगेको छ, बाहिरबाट ल्याउनुपरेको छैन,” अध्यक्ष खाँ भन्नुहुन्छ । अहिले स्वदेशी ईंटा उद्योगीले भारतीय एकाधिकार तोडिसकेका छन् । ईंटा उद्योगमा बाँके आत्मनिर्भर बनिसकेको छ । यहाँको ईंटाले छिमेकी कर्णाली प्रदेशलाई पनि थेगेको छ । कर्णाली प्रदेशका अधिकाँश निर्माणमा बाँकेको ईंटा प्रयोग भएको छ । अध्यक्ष खाँ भन्नुहुन्छ – “स्वदेशी उत्पादनमा आत्मनिर्भर हुने उद्योगमा ईंटा नै हो । हामीले कर्णालीलाई समेत धानेका छौं ।” उहाँका अनुसार बाँकेबाट दैनिक ५० हजार भन्दा बढी ईंटा सुर्खेत हुँदै कर्णालीका विभिन्न जिल्लासम्म पुग्ने गरेको छ । नेपाल ईंटा उद्योग व्यवसायी सङ्घ बाँकेमा ४२ उद्योग सदस्य छन् । यी उद्योगले वार्षिक करीब ८ करोड ईंटा उत्पादन गर्दैआएको अध्यक्ष खाँले बताउनुभयो । यहाँ उत्पादन भएका ईंटा बाँकेको स्थानीय बजार र कर्णाली प्रदेशका सबै जिल्लामा पुग्ने गरेको नेपाल ईंटा उद्योग व्यवसायी सङ्घ प्रदेश नं ५ का उपाध्यक्ष देवबहादुर ओली बताउनुहुन्छ । “ईंटाको बजार दिन प्रतिदिन बढिरहेको छ,” ओलीले भन्नुभयो – “पूर्वाधार निर्माणका काम बढेसँगै ईंटाको माग उच्च देखिएको छ ।” ईंटा उद्योगले रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्छन् । एउटै उद्योगमा कम्तीमा ५० जनाले सजिलै रोजगारी पाउँछन् । रोजगारी पाउनेमा नेपाली मात्र होइन भारतीय नागरिकसमेत छन् । ईंटा उद्योग मौसमी उद्योग हो । माघदेखि वैशाखसम्म चल्छ । बर्खामा उद्योग बन्द हुन्छ । “चार÷पाँच महीना चलेको उद्योगले वर्षभर धान्नुपर्छ, सिजनका बेला सयौं जनाका लागि रोजगारी सिर्जना गर्छौं,” सङ्घका सचिव टंक बुढाथोकी भन्नुहुन्छ – “उत्पादन नभएको समयमा पहिले उत्पादन गरेका ईंटा बिक्री गर्छौं ।” वर्षा छिटो शुरु भयो भने ईंटा उत्पादन समय घट्छ जसले गर्दा उत्पादनमा कमी आएर अभावसम्म हुने गर्छ । सचिव बुढाथोकी भन्नुहुन्छ – “उत्पादनको सिजन नभएका बेला भने घट्छ ।” यो उद्योगले रोजगारी सिर्जना मात्र होइन सरकारका लागि राजश्वमा समेत महत्वपूर्ण योगदान गर्दैआएका छन् । राम्रो चलेको उद्योगले १० लाखदेखि २० लाख रुपैयाँसम्म वार्षिक राजश्वमा योगदान दिने गरेको व्यवसायीहरु बताउँछन् । ईंटा उद्योगीका लागि मौसम, बैंकको चर्को ब्याजदर, कच्चा पदार्थ र पछिल्ला आर्थिक नीतिहरु चुनौतीका रुपमा रहेको प्रदेश उपाध्यक्ष ओलीले बताउनुभयो । उहाँ भन्नुहुन्छ – “राजश्व र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेले पनि राज्यले हामीलाई हेर्ने नजर फरक छ ।” ओलीले काँचो ईंटाको बीमा नहुनु पनि आफूहरुका लागि चुनौती रहेको बताउनुभयो । सङ्घका अध्यक्ष खाँका अनुसार बाँकेका ईंटा उद्योगहरु नयाँ प्रविधिमैत्री बन्दै गएका छन् । केही वर्षमै बाँके जिल्लाको ईंटा उद्योग क्षेत्रले ठूलो फड्को मार्छ । ईंटामा भारतीय एकाधिकार तोड्न यहाँका उद्योगीले धेरै मेहनत गर्नुपरेको थियो । लामो समय आन्दोलन भयो । मुख्य नाकाबाट आयात बन्द भए पनि चोरी नाकाबाट आउन थालेपछि त्यसका लागि पनि खबरदारी गरिएको सम्झँदै अध्यक्ष खाँ भन्नुहुन्छ – “अहिले अवस्था फरक छ । यहीँको उत्पादनले पुग्छ । अब भारतीय ईंटाले नेपालगञ्जका घर बन्न छाडिसके । यहीँका ईंटा पर्याप्त छन् ।” यहाँका ईंटा उद्योगमा काम गर्ने मजदूर भने अधिकाँश भारतीय रहेका छन् । भारतीय मजदूरले बाँकेका ईंटाभट्टा धानेका छन् । सिजनमा यहाँका ईंटा उद्योगमा भारतीय मजदूरको घुइँचो हुन्छ । परिवारसहित आउने भारतीय मजदूरहरु सिजन सकिएपछि घर फर्किन्छन् । भारतीय कामदारले नेपाली उद्योगमा बढी पारिश्रमिक पाउने गर्छन् । भारतमा एक हजार काँचो ईंटा बनाएर भारु ४०० कमाउने श्रमिकले यहाँ भारु ६०० पारिश्रमिक पाउँछन् । “यहाँ कामदारको मूल्य छ,” नेपालगञ्जमा ईंटाभट्टामा दुई दशकदेखि काम गर्दैआएका पप्पु अन्सारीले भन्नुभयो – “उता ९भारतमा० भन्दा रु २०० बढी ज्याला पाउँछौं । त्यसैले नेपालमै मजदूरी गर्न आउँछौं ।” नेपाली कामदारको अभावले ईंटाभट्टामा भारतीयले अवसर पाएका हुन् । “यहाँका मान्छे ईंटाभट्टामा काम गर्दैनन्,” अन्सारीले भन्नुभयो – “यहाँ मजदूर नपाएपछि नेपाली ईंटा उद्योगले खोजीखोजी भारतीय मजदूर ल्याउने गर्छन् ।” वर्षभरि काम गरेर एक जना मजदूरले कम्तीमा ६० हजार भारु कमाउने गरेको ईंटा व्यवसायीहरु बताउँछन् । नेपालगञ्ज उपमहानगरपालिका–१३ का ईंटा व्यवसायी हाजी रज्जा वलीका अनुसार ईंटाभट्टामा नेपाली कामदारको अभाव छ । उहाँले भन्नुभयो – “बढी पारिश्रमिक दिएर भारतबाट मजदूर ल्याउनुपर्ने बाध्यता नै छ ।” नेपालगञ्जका ईंटाभट्टा भारतीय मजदूरकै भरमा चलेको उहाँले बताउनुभयो । किसान ईंटाभट्टा सञ्चालन गर्नुभएका उहाँले सिजनमा ५० भन्दा बढी भारतीय मजदूरका परिवारलाई रोजगारी दिँदै आउनुभएको छ । ईंटाभट्टामा मजदूर ल्याउन मध्यस्थकर्तासमेत खटाउनुपर्ने यहाँका व्यवसायीको बाध्यता छ । बाँकेमा ५० भन्दा बढी ईंटा उद्योग छन् जहाँ झण्डै ९० प्रतिशत भारतीय मजदूरले काम गर्दैआएका छन् । एक जना भारतीय कामदारले दैनिक कम्तीमा दुई हजार ५०० वटा ईंटा तयार गर्न सक्छन् । प्रतिईंटा ५० पैसाका दरले दैनिक एक हजार २०० देखि एक हजार ५०० सम्म एक जनाले कमाउने गर्छन् । जति ईंटा बनाउन सक्यो उति आम्दानी गर्न सकिने र राम्रो फाइदा हुने भारतीय मजदूर सुजान बर्माको अनुभव छ । उहाँ भन्नुहुन्छ – “यहाँका उद्योगमा राम्रो कमाइ हुन्छ ।” नेपालीहरु रोजगार पाइएन भन्दै काम गर्न भारत तथा तेस्रो मुलुक जान्छन् तर, सुजान बर्माजस्ता अन्य धेरै भारतीय नागरिकहरु काम गर्नकै लागि नेपाल आउने गरेका छन् । काँचो ईंटा बनाउने, ईंटा बोक्ने र भट्टामा काम गर्ने अधिकाँश मजदूर भारतीय नै छन् । भारतको बहराइचबाट नेपालगञ्जका ईंटा उद्योगमा काम गर्न आएका इरफान दाउदले भारतमा ईंटा उद्योगको सङ्ख्या कम भएको र नेपालमा जहिल्यै कामदारको अभाव हुने गरेकाले सहज रोजगारी पाइने हुँदा काम गर्न नेपाल आएको बताउनुभयो । उहाँले भन्नुभयो – “यहाँ कामदारको अभाव हुन्छ । सजिलैसँग काम र दाम दुबै पाइने भएकाले हामी नेपालमा काम गर्न आउँछौँ ।” नेपाल ईंटा उद्योग व्यवसायी सङ्घ बाँकेका अध्यक्ष जैनुल खाँले नेपालमा कामदार नपाइने र नेपालीले ईंटा उद्योगमा काम गर्न नचाहने गरेकाले भारतीय कामदारको भरमा उद्योग सञ्चालन गर्नुपरेको बताउनुभयो । “यहाँ कामदार पाइँदैनन्,” उहाँले भन्नुभयो – “नेपालीलाई यो काममा रुची छैन । त्यसैले सबै ईंटाभट्टा भारतीय कामदारकै भरमा चलेका छन् ।”
Categorized in राष्ट्रिय