STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कर्मचारीले तलब नपाउँदा खानेपानी बन्द

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक १७, आइतबार

कर्मचारीको अवरोधका कारण बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा सञ्चालनमा रहेको खानेपानी आयोजना दुई सातादेखि बन्द भएको छ । तलब भत्ता नपाएको भन्दै कर्मचारीले मुख्य ट्याङ्कीबाट पानी खोलेका छैनन् । छिस्तीका ६०० परिवारले झण्डै ३४ वर्षदेखि प्रयोग गर्दै आएको छिस्ती खानेपानी आयोजना बन्द भएको हो । उनीहरुले दशैँ भत्ता र मासिक पारिश्रमिक पाएका छैनन् । आयोजनामा काम गर्दै आएका पाँचजना कर्मचारीले पछिल्लो दुई महिनाको पारिश्रमिक र बर्सेनी खाइपाइ आएको दशैँ भत्ता पाएका छैनन् । गत कात्तिक ४ गतेदेखि आयोजनाका धारामा पानी नआउँदा छिस्तीका ६०० परिवार प्रभावित भएका छन् । दुई सातादेखि खानेपानी बन्द भएपछि वडा कार्यालय र उपभोक्ता स्वयंले समेत समस्या समाधानका लागि राखेका बैठकहरुमा पनि राजनीतिक विषयले प्राथमिकता पाएपछि खानेपानी आपूर्ति गर्न असहज भएको स्थानीयवासीले गुनासो गरेका छन् । “योजना शुरु भएदेखि नै मैले काम गर्दै आएको छु, हरेक दुई महिनामा तलब र दशैँमा भत्ता आउँथ्यो”, आयोजनाका कर्मचारी ढाकाबहादुर थापाले भन्नुभयो, “न धेरै छ, अलिअलि भएको तलब पनि चाडबाडमा नपाएपछि हामीले काम छोड्यौँ ।” कर्मचारीले तलब भत्ता नपाएकै कारण काम छोड्दा साबिकको छिस्ती गाविस–५, ६ र ७ का उपभोक्ता खानेपानीबाट वञ्चित भएका छन् । उनीहरुले घण्टौँ यात्रा गरेर कुवा र पोखरीको पानी ल्याउन बाध्य छन् । खानेपानी बन्द भएको विषयमा प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले ध्यानाकर्षण भएको जनाउनु भएको छ । छ सय परिवारले प्रयोग गर्दै आएको पानीमा अवरोध हुनु दुःखद् भएको भन्दै पानी खोल्नका लागि पहल थालेको पाठकले बताउनुभयो । विसं २०६४ देखि खानेपानीको व्यवस्थापन गरी आएको समितिले गत भदौ ३ गते बैठक बसेर आयोजनाको व्यवस्थापनको काम गर्न नसकेको भन्दै वडा कार्यालयलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । समितिले सर्वसम्मत रुपमा गरेको निर्णयसहितको पत्र वडाध्यक्षलाई पठाएर काम छोडेको समितिका अध्यक्ष दिलबहादुर श्रीषले बताउनुभयो । “हामीले काम गर्न सक्दैनौँ व्यवस्थापन गर्नु भनेर वडालाई पठाएका हौँ”, श्रीषले भन्नुभयो, “काम छोडेपछि तलब भत्ता भर्न हाम्रो अधिकार रहेन, अधिकार भए पनि दिने स्रोत छैन् ।” छ सय घरले प्रयोग गर्ने १२१ धाराबाट उठ्ने रकमले कर्मचारीको तलबसमेत भर्न कठिन भएपछि उपभोक्ता समितिले आयोजना वडाको जिम्मा लगाउने निर्णय गरेको उहाँले बताउनुभयो । “शुल्कले पुग्दैन अरू स्रोत छैन, मूल्य बढाउन दिएनन्”, श्रीषले टेलिफोनमा भन्नुभयोे, “समान्य मर्मत गर्नसमेत कसैले सहयोग नगरेपछि जिम्मा लगाएका हौँ ।” झण्डै नौ किलोमिटर टाढा रहेको मुहानबाट पानी ल्याइएको उक्त आयोजनामा सधैँजसो पाइप फुट्ने, पहिरोले बगाउनेलगायतका समस्या आउने गरेका छन् । बरेङ गाउँपालिकाको धुल्लुबास्कोटमा रहेको झुलेखोलाको मुहानबाट छिस्तीमा खानेपानी ल्याइएको छ । साबिकको वडा नं ५, ६ र ७ का उपभोक्ताहरुले लामो समयदेखि पानीको महसुल नतिरेका कारण समिति सङ्कटमा परेको थियो । अध्यक्ष श्रीषका अनुसार ३ वडाबाट झण्डै रु ८० हजार शुल्क उठ्न बाँकी रहेको छ । यता, वडा कार्यालयले भने उपभोक्ता समितिको गैरजिम्मेवारका कारण खानेपानी रोकिएको जनाएको छ । “उहाँहरुले काम नगर्ने हो भने भेला बोलाएर समिति पुनर्गठन गर्ने हो, हामीलाई बुझाउने होइन”, वडाध्यक्ष विजय अधिकारीले भन्नुभयोे, “समितिले जिम्मेवार व्यवहार नगर्दा समस्या आएको हो ।” पानी बन्द भएपछि सर्वदलीय बैठक बोलाएर समस्या समाधानको पहल गरेको भए पनि काङ्ग्रेस बाहेकका अन्य दलले राजनीतिक बखेडा झिकेको अधिकारीको आरोप छ । उपभोक्ता समितिले भने वडाले जिम्मेवारी लिएर तत्काल पानी आपूर्ति गर्नुपर्ने बताउँदै आएको छ । गाउँमा जथाभावी खनिएका सडक र प्राकृतिक विपत्तिको शिकार बन्दै आएको आयोजनाको अहिले पनि ठाउँ–ठाउँमा पाइपलाइन फुटेको आयोजनाका कर्मचारी बताउँछन् । “भिरको पातमा परान राखेर काम गरिएको थियो”, पुराना कर्मचारी थापाले भन्नुभयो, “अहिले पनि समस्या धेरै छन्, छाकै नटरेपछि काममा गैएन ।” विसं २०४२ मा सञ्चालनमा आएको यो योजना विसं २०५५ सम्म नेपाल सरकार मातहतमा सञ्चालन हुँदै आएको यो योजना त्यसपश्चात् उपभोक्ता समितिमा हस्तान्तरण भएको थियो । सोही क्षेत्रमा सञ्चालनमा रहेको सामुदायिक विद्युतीकरणमा वडा कार्यालयले हस्तक्षेप गरेपछि त्यसको प्रभाव खानेपानीमा परेको स्थानीय बताउँछन् । सामुदायिक विद्युतीकरणका लागि बनेको समितिमा विवाद भएपछि वडाध्यक्षले अर्को समिति नबन्दासम्मका लागि वडा कार्यालय मातहतमा रहने गरी काम अघि बढाउनुभएको थियो । “विद्युत्मा उहाँले हस्तक्षेप गरेपछि पानीको समस्या आएको गाउँलेको भनाइ छ । विद्युत्, खानेपानी जस्ता अत्यावश्यक वस्तुहरुमा राजनीतिक रङ लगाउँदा समस्या पैदा भएको स्थानीयवासी कुलबहादुर पुन बताउनुहुन्छ । छिस्तीमा सडक पु¥याउँदाको समयमा लिएको ऋणका विषयमा पनि वडाध्यक्षसहित उहाँको दल र अरू राजनीतिक दलको बीचमा विवाद रहेको छ । पानीको विषय भजाएर अरू शीर्षकमा सम्झौता गर्न बाध्य बनाउन खोजेको आरोप वडाध्यक्ष अधिकारीले लगाउनुभएको छ । उहाँले सामुदायिक विद्युतीकरणको ट्रान्सफर्मर बिग्रिएपछि ऋण काडेर परिवर्तन गरेको बताउनुभयो । “सर्वदलीय बैठक राखेर सबैको सल्लाहकै आधारमा सहकारीबाट ऋण खोजेर ट्रान्सफर्मर किनेको हो”, अधिकारीले भन्नुभयो, “बिजुलीको कुरा पानीमा जानु हुँदैन ।”
Categorized in राष्ट्रिय