STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काष्ठमण्डप पुनःनिर्माण ३० प्रतिशत

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २४, शुक्रबार

काष्ठमण्डप पुनःनिर्माणको काम लक्ष्यअनुरुप अघि बढिरहेको बताउँदै पुनःनिर्माण समितिले हालसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । असार मसान्तसम्ममा पहिलो तलाको काम सक्नेगरी काम तीव्ररुपमा भइरहेको जनाइएको छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार निर्माणको कामअन्तर्गत अहिले चौघेरामा गारो लगाउने र बिम राख्ने काम भइरहेको छ । शाक्यले भन्नुभयो, “निर्माणको समयमा समितिले लिएको लक्ष्यअनुरुप नै काम भइरहेको हुनाले निर्धारित समयमा नै सकिनेछ ।” अध्यक्ष शाक्यका अनुसार २०७६ असार मसान्तसम्ममा पहिलो तलाको काम सम्पन्न गरी अर्को तलाको काम शुरु गर्ने बताउनुभयो । गोरखा भूकम्पका कारण पूर्णरुपमा क्षति भएको काष्ठमण्डप आगामी तीन वर्षमा सक्नेगरी निर्माणको काम भइरहेको पनि समितिले बताएको छ । निर्माणका लागि यसअघिका पुराना काठमध्ये १० देखि १५ प्रतिशत मात्र काठ पुनःप्रयोग गर्न सकिने अवस्थामा छ । गत माघ २७ गते श्रीपञ्चमीका दिन काष्ठमण्डपको मूल थाम उठाइएको थियो । उक्त दिन काष्ठमण्डको मुख्य चार थाम उठाइएको हो । प्रयोग गरिएका चार थाममध्ये तीन नयाँ प्रयोग गरिएको हो भने एउटा पुरानै प्रयोग गरिएको छ । कामपाले पुनःनिर्माण समितिलाई हालसम्म रु पाँच करोड ५० लाख आर्थिक सहयोग प्रदान गरिसकेको छ । काष्ठमण्डपलाई प्राचीनस्वरूपमै तयार गरिनेछ । पुरानै स्वरूपअनुसार तीन तलाकै बनाइने छ । मन्दिरमा नेपाली सालको काठ प्रयोग गरिनेछ । काष्ठमण्डपमा धेरै डिजाइनका काठ प्रयोग हुनेछन् तर एकै रुखका हुने छैन । आठ फिटभन्दामाथिका एक हजार २५६ क्युबिक फिटका काठ प्रयोग गरिनेछ । आठ फिटभन्दा तलका काठ पनि ठाउँठाउँमा प्रयोग हुनेछन् । पुनःनिर्माणपछि मन्दिरको छानो भने झिँगटीले सजिने छ । भूकम्प गएको लामो समयपछि गत पुसदेखि धरहरा माघदेखि काष्ठमण्डप र फागुनदेखि रानीपोखरी पुनःनिर्माण शुरु गरिएको थियो । विसं २०७२ वैशाख १२ गते भूकम्पले गर्दा यी तीनै सम्पदामा पूर्णरुपमा क्षति पुगेको थियो । अघिल्लो वैशाख ३१ गते काष्ठमण्डप निर्माणका लागि क्षमा पूजा गरिएको थियो । क्षमा पूजा कुनै पनि काम गर्दाको अवधिमा कुनै पनि किसिमको बाधा अवरोध नआओस् भनेर गरिने कार्य हो ।
Categorized in राष्ट्रिय