गर्मीसँगै आँखा पाक्ने रोग
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २३, सोमबार
जिल्लामा पछिल्लो समय गर्मी बढैसँगै आँखा पाक्ने रोग फैलिएको छ । शुरु शुरुमा आँखा चिलाउने तथा पछि गएर आँखा रातो हुने र आँखाबाट पानी बग्ने यसको प्रमुख लक्षण भएको शैलेस्वरी अस्पताल जिल्ला अस्पताल डोटीका डा भुषण मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मीसँगै दूषीत हावापानीका कारण यो रोग सर्छ, दिउँसो घाममा हिड्दा चस्मा प्रयोग गरौँ ।” अस्पतालका अनुसार गर्मीका कारण आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्ने गरेको छ ।
यति मात्र नभई यहाँका मेडिकल तथा स्वास्थ्य केन्द्रमा पनि आँखा पाक्ने बिरामीको दैनिक भिड लाग्ने गरेको छ । दिपायल राजपुरस्थित पाण्डेय मेडिकलका हरिश पान्डेयका अनुसार आँखा पाक्ने रोगबाट सबैभन्दा बढी स्कुले केटाकेटी तथा वृद्धवृद्धा पीडित बनेका छन् । यहाँका ग्रामीण क्षेत्रमा समेत यो रोग बिगत केही दिनदेखि फैलिँदै गएको केआईसिंह गाउँपालिकाका स्थानीयवासी शेरबहादुर ऐरले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँमा आँखा पाक्ने रोगले निकै सताउन थालेको छ, सबैभन्दा बढी साना बालबालिका र वृद्धहरु यसको मारमा परेका छन् ।” जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुगमन तथा मूल्याङ्कन अधिकृत टेकराज ओझाका अनुसार फोहर, धुलो धुवासँगै ब्याक्टेरिया तथा व्यक्तिगत सरसफाई कमजोर भएका कारण आँखाको रोग एक अर्कामा सर्ने बढी सम्भावना हुने गर्दछ । सधँै सफा पानीले आँखा, मुख धुने तथा चर्को गर्मीमा नहिड्ने, हिड्नै परे चस्माको प्रयोग गरे यो रोग एक अर्कामा सर्ने सम्भावना कम हुनेसमेत अधिकृत ओझाले जानकारी दिनुभयो ।
त्यसैगरी गर्मीसँगै दिपालयको प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजार पनि दुर्गन्धित बनेको छ । गर्मीयामसँगै बजारमा खुला तथा छाँडा रुपमा छोडिएका चौपायाले यो समस्या झन बढेको दिपायल पिपल्लाका स्थानिय खड्कबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “ बजारमा छाडा चौँपायाले गर्ने फोहर तथा धुलोले बढी आँखा पाक्ने समस्या बढाएको हो ।”
शैलेश्वरी अस्पताल दिपायलका चिकित्सक तथा निर्देशक आईजंङ्ग कुँवरका अनुसार यो रोग लागेपछि आँखाको सेतो भागको बाहिरी र आँखाको ढकनीको भित्री तहमा पोलेको महसुस हुन्छ भने आँखा फुस्रो वा रातो देखिन्छ । त्यस्तै आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको वा केही बिझाएको महसुस हुन्छ ।
पाक्ने रोग लागेको आँखामा धेरै आँसु आउने र बिहान उठ्ने बेलामा आँखाको ढकनी एकआपसमा टाँसिने गर्दछ । सामान्यतया यो रोग एक वा दुई हप्तामा निको हुने गरेको निर्देशक कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “आखाँ पाक्ने रोग भनेको त्यति जटिल रोग हैन, एक दुईहप्तामा निको हुने भएकाले आत्तिनु भन्दा आखाँको ख्याल गर्नु राम्रो ।”
Categorized in राष्ट्रिय


