STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चौतारीको संरक्षणमा जुटे स्थानीवासी

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ९, बिहिबार

स्थानीय समाजसेवी ऐशनारायण श्रेष्ठले सङ्खुवासभा चैनपुरस्थित जिरोप्वाइन्टमा रहेको बरपिपल संरक्षणमा जुटेका छन् । परम्परागत रुपमा रहेका चौतारी मासिँदै गइरहेको बेला चैनपुरको मुटुमा रहेका चौतारीले भने संरक्षक भेट्टाएको छ । आफ्ना बुबाआमाको सम्झनामा रोपिएको बरपिपलमुनि सडक निर्माण र अन्य कारणबाट भत्किएको चौतारीलाई पुनःनिर्माण गर्दै आरामदायी फलामे फलैँचा राखेर प्रतिक्षालयको रूपमा चौतारीलाई रूपान्तरण गरिएको छ । सँगै रहेको अर्को जीवन भण्डारीका हजुरबुबाका नाममा बनाइएको चौतारीको अवस्था पनि जीर्ण रहेको छ । कुलपूजाको अवसरमा चैनपुर आएका उद्योगी व्यवसायी एवं समाजसेवी जीवन भण्डारीले समेत आफ्ना हजुरबुबाको नाममा बनेको चौतारीलाई पुनःनिर्माण गरी चैनपुर आउने जोकोही यात्रीलाई चौतारीमा बसेर थकान मेटाउँदै हावा खाने प्रतीक्षालयको रूपमा विकास गर्न आफू लागिपर्ने बताउनुभयो । ज्ञानेन्द्रले बनाइदिए कुलको मन्दिर सङ्खुवासभा चैनपुर–७ को भण्डारी मोडमा स्थानीय ज्ञानेन्द्र भण्डारीले आफ्नो कुलको सम्झनामा मन्दिर बनाइदिनुभएको छ । चण्डी पूर्णिमाको अवसरमा भण्डारी बन्धुबान्धवको उपस्थितिमा आकर्षक शैलीमा बनाइएको मन्दिरको शास्त्रीय विधिअनुसार कुलको पूजाआराधना गरेर मन्दिर निर्माता ज्ञानेन्द्र भण्डारीको बाहुलीबाट उद्घाटन गरिएको छ । अमेरिकामा बस्दै आउनुभएका भण्डारीले सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आउनुभएको छ । चैनपुरदेखि खाँदबारी कोशी राजमार्गको भण्डारी मोडमा रहेको देवीथानमा करीब रु १० लाखको लागतमा मन्दिर निर्माण भएपछि पूजा गर्नेको भीड लागेको छ । तयार भयो वैकल्पिक टुँडिखेल सङ्खुवासभा चैनपुर नगरपालिका–६ स्थित जिरोप्वाइन्ट नजिक रहेका खलङ्गा सामुदायिक वनको हाताभित्र वैकल्पिक टुँडिखेलको निर्माण कार्य सम्पन्न भएको छ । वर्षौँअघिदेखि विभिन्न प्रकृतिका सार्वजनिक समारोह तथा कार्यक्रम हुँदै आएको स्थल चैनपुरको टुँडिखेलमा राधाकृष्णको मन्दिरसमेत निर्माण भइसकेको र त्यस क्षेत्रलाई उद्यानको रूपमा विकास गर्ने योजनाअनुरूप घेराबारसमेत गरिएको छ । वैकल्पिक टुँडिखेल निर्माणका लागि प्रदेश नं १ सरकारले रु ९० लाख बजेट विनियोजन गरिएको थियो । टुँडिखेलको निर्माणसंगै त्यहाँ अन्य आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि रु छ लाखको लागतमा डिपिआर तयार भएको उपभोक्ता समितिका अध्यक्ष आशिष शाक्यले जानकारी दिनुभयो । वैकल्पिक टुँडिखेल निर्माण भएसँगै नगरक्षेत्रमा हुने सबै प्रकारका सार्वजनिक समारोह सञ्चालन गर्न सहज हुने चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले बताउनुभयो । खत्रीका अनुसार यस टुँडिखेललाई व्यवस्थित गर्न नगरपालिकाले कुनै कसुर बाँकी राख्ने छैन । दीर्घरोगीलाई उपचार खर्च सङ्खुवासभा धर्मदेवी नगरपालिकाको तेस्रो नगरसभाले दीर्घ प्रकृतिका रोगीलाई लक्षित गरी स्वास्थ्य क्षेत्रमा उदाहरणीय कामको थालनी गरेको छ । नगरक्षेत्रमा रहेका मिर्गौला, क्यान्सर, दम, मुटुका रोगीलगायतका कडा र दीर्घकालीन प्रकृतिका रोगको उपचारको अभावमा छटपटिरहेका विपन्न, गरीब, असहाय, अशक्त रोगीका लागि प्राथमिक उपचारसँगसँगै सुविधासम्पन्न अस्पतालमा लैजान प्रेरित गरिने उद्देश्यका साथ परिषद्ले यस्तो निर्णय गरेको हो । नगरक्षेत्रका नागरिकमध्ये त्यस्ता गम्भीर प्रकृतिका रोगीलाई नगरको बजेटबाट रु १५ हजारका दरले औषधोपचार खर्च उपलब्ध गराउने निर्णय गरिएको छ । यो निर्णयसंगथै १० रोगीले यस किसिमको सुविधा लिइसकेको जानकारी नगरप्रमुख रमेश जिमीले दिनुभयो । नगरप्रमुख जिमीका अनुसार दुई दर्जनबढी दीर्घरोगीले यस किसिमको सुविधाका लागि निवेदन दिइसकेका छन् । रोगको पहिचान गरी सम्बन्धित वडा कार्यालयले सिफारिश गरेको आधारमा यस किसिमको सुविधा उपलब्ध गराउँदै आएको समेत उहाँले बताउनुभयो । रोगको पहिचान हुन नसक्दा अकालमै ज्यान गुमाउनुपर्ने जोखिमबाट बचाउने उद्देश्यका साथ असहाय र अशक्तलाई लक्षित गरी नगरले यस किसिमको कार्यक्रम ल्याएकोमा नगरवासी उत्साहित भएका छन् ।
Categorized in राष्ट्रिय