STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

टीकापुरमा होरी शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २१, बुधबार

कैलालीको टीकापुरमा यस वर्षको होरी खेल मङ्गलबारदेखि शुरु भएको छ । सांस्कृतिक समाज टीकापुरको आयोजनामा खेल शुरु भएको समाजका अध्यक्ष प्रेमबहादुर रावलले जानकारी दिनुभयो । टीकापुरको खुला मैदानमा खेल शुरु गरिएको छ । सयौँको सङ्ख्यामा मानिसले लय र ताल मिलाएर खेलिने टीकापुरको होरी पाको पुस्तामा एकदमै लोकप्रिय छ । युवाहरु भने न्याउल्यातिर बढी आकर्षित देखिन्छन् । सेतो दौरा सुरुवाल, ढाका टोपी, फूलको माला र रातो टीकामा सजिएर पुरुषहरुले होरी खेल्ने गर्दछन् । होरी खेल्दा उक्त पोसाक प्रायः सबैका लागि अनिवार्य गरिएको हुन्छ । कसैकसैले सेतो पगरी ९टाउकोमा बेरिएर० बाँध्ने र शिरमा फूल सिउरिनेसमेत गर्दछन् । सुदूरपश्चिममा होरी पर्वका अवसरमा खेलिने होरी डेउडाको लामो इतिहास रहेको पाइन्छ । सुदूरपश्चिममा १७५० सालतिर होरी डेउडा भित्रिएको सांस्कृतिक समाज टीकापुरका सल्लाहकार देवानन्द रिमालले बताउनुभयो । “होरी डेउडालाई सुदूरपश्चिमको संस्कृतिका रूपमा हेर्ने गरिन्छ”, सल्लाहकार रिमाल भन्नुहुन्छ, “होरी खेल्दा भगवान् राम र सीताको जीवनशैलीबारे वर्णन गरिन्छ । साथै होरी खेल्दा गाइने देउडामा सत्यको जीत हुन्छ भन्ने सन्देश दिने गरिन्छ ।” होरी डेउडा सुदूरपश्चिमको कैलाली, अछाम, बैतडी, डोटी, डडेल्धुरा, बाजुरा र बझाङमा खेलिन्छ । “होरी डेउडाको आफ्नै महत्व रहेको छ । होरी सुदूरपश्चिमको पहिचानसँग पनि जोडिएको छ”, सल्लाहकार रिमाल भन्नुहुन्छ, “होरीको समयमा खेलिने देउडाको संरक्षणका लागि युवापुस्तालाई समेत समेट्न खोजिरहेका छौँ ।” सुदूरपश्चिमका विभिन्न जिल्लामा फागुन शुक्ल अष्टिमीदेखि पूर्णिमासम्म होरी डेउडा खेल्ने गरिन्छ । होरीको डेउडा खेलमा सबै पुस्ताका मानिसहरु भेला हुने र लगातार हप्तादिनसम्म खेलिने हुँदा स्थानीय प्रहरीलाई सुरक्षा व्यवस्था मिलाउन चुनौतीपूर्ण बन्दै गएको छ । हजाराँै मानिस भेला हुने र सयौँ मानिसले एकैचोटी होरी खेल्ने भएकाले देउडा सुनाउन पनि मुस्किल हुने गर्दछ । सबैले सुन्ने व्यवस्थाका लागि सांस्कृतिक समाजले माइकको सहायता लिने गरेको छ । होरी खेल शान्तिपूर्ण सम्पन्न होस् भनी केही दिनअघि इलाका प्रहरी कार्यालय टीकापुरमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले राति ८ बजेसम्म मात्रै होरी खेल्ने निर्णय गरेको छ ।
Categorized in खेलकुद