STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ठूलीगाडमा माछा मार्न प्रतिबन्ध

Janjati Khabar – जनजाति खबर | २०७६ पौष ६, आइतबार

दक्षिणी क्षेत्रमा पर्ने ठूलीगाड नदीमा गैरकानूनीरूपमा माछा मार्न प्रतिबन्ध लगाइएको छ । जलीय जैविक विविधता संरक्षण गर्न बडीकेदार र जोरायल गाउँपालिकाले नदीमा माछा मार्न बन्द गर्ने निर्णय गरेका हुन् । जलचर संरक्षण ऐन कार्यान्वयनमा ल्याई जलीय जैविक विविधता संरक्षणमा ती दुई स्थानीय तह संयुक्त रुपमा जुटेका हुन् । अब नदीमा तथा खोलामा बम विष्फोट गरी, विषादी प्रयोग गरी तथा करेन्ट प्रयोग गरी माछा मार्न बन्द गरिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले छुट्टै कानून बनाएर स्थानीय नदी तथा खोलामा गैरकानूनीरूपमा माछा मार्न बन्द गराएका छौँ, कानूनविपरीत काम गर्ने जो–कोहीलाई कारवाही हुनेछ ।” ती पालिकाले संयुक्त रुपमा जलचर संरक्षणसम्बन्धी समूह गठन गरी ठूलीगाड जलाधार क्षेत्रको संरक्षण गर्न थालेका छन् । गाउँपालिकाले संयुक्तरूपमा छुट्टै ऐन कानून बनाई समूह गठन गरेर समूहलाई नै नदी तथा माछाको संरक्षणको जिम्मा दिएको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले जलचर संरक्षण ऐन, नीति र कार्यविधि तयार गरेर जलीय जैविक विविधता संरक्षणको जिम्मा स्थानीयवासीलाई दिएका छौँ, स्थानीयवासीको पनि सक्रियता बढेको छ ।” पछिल्लो समयमा विभिन्न विष्फोटक पदार्थ, करेन्ट लगाएर माछालगायत अन्य जलचर प्राणी मारिन थालेपछि र लोप हुने अवस्था आएको भन्दै स्थानीय तहले नीति बनाएर संरक्षणमा लागेका हुन् । माछा मार्दा नदीमा विष प्रयोग गरिदिने, जाल प्रयोग गर्ने त कसैले करेन्ट लगाउनाले माछाका बच्चा मर्ने भएकाले माछा लोपोन्मुख अवस्थामा पुगेको स्थानीयवासी बताउँछन् । स्थानीय तहले बनाएको ऐनमा नदीमा बम, विषादी प्रयोग गरी माछा मार्नेलाई कानूनबमोजिम कारवाहीसहित जेल सजायसमेत हुने उल्लेख गरिएको छ ।
Categorized in राष्ट्रिय