तीन ज्येष्ठ सञ्चारकर्मीलाई अभिनन्दन गरिने
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १४, बुधबार
न्हू प्रेष्टिज नेपाः मासिक, उज्यालो रेडियो नेटवर्कको लहना कार्यक्रम र ‘नेपाल मण्डल’ टेलिभिजनलाई पनि सम्मान गरिने
काठमाडौं– नेपालका तीनजना ज्येष्ठ पत्रकार एवं सञ्चारकर्मीलाई यही फागुन १७ गते शनिबार एक कार्यक्रमबीच अभिनन्दन गरिने भएको छ । नेवाः प्रेस दबू नेपालको आयोजनामा ‘पाका संचारकर्मी एवं राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ’का अध्यक्ष मदनदास श्रेष्ठ, वरिष्ठ सञ्चारकर्मी एवं समाजसेवी कृष्णा ताम्राकार तथा पूर्व पत्रकार एवं काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख राजाराम श्रेष्ठलाई अभिनन्दन गरिन लागेको हो । नेवाः पत्रकार र सञ्चारकर्मीहरुलाई आपतविपतमा सहयोग गर्न श्रमजीविहरुबाटै गठित नेवाः पत्रकार कोषको सहयोगको लागि उक्त अभिनन्दन हुन गइरहेको हो । कान्तिपथको एल्लो प्यागोडा होटलमा हुने अभिनदन कार्यक्रममा नेवाः सञ्चार क्षेत्रमा लामो समयदेखि योगदान दिइरहेका तीनवटा सञ्चार गृहलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ । सम्मानित हुने सञ्चारगृहमा छापातर्फ १६ वर्षदेखि निरन्तर प्रकाशित ‘न्हू प्रेष्टिज नेपाः’ मासिक, १३ वर्षदेखि निरन्तर प्रकाशित उज्यालो रेडियो नेटवर्कको लहना कार्यक्रम र ९ वर्षदेखि निरन्तर प्रशारणमा आइरहेको ‘नेपाल मण्डल’ टेलिभिजन रहेका छन् । Categorized in राष्ट्रिय


