STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तेजाब प्रहारबाट घाइते युवतीको उपचारमा सरकारले सहयोग गर्ने

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ११, आइतबार

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले तेजाब प्रहारबाट घाइते युवतीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिनुभएको छ । मन्त्री ढकालले आज कीर्तिपुर अस्पताल पुगी उपचाररत पीडित युवतीलाई भेटेर उनको उपचारमा सरकारले सक्दो सहयोग गर्ने बताएका छन् । “तपाईँको उपचारमा सरकारका तर्फबाट सक्दो सहयोग हुन्छ”, पीडितसित कुरा गर्दै उनले भने “घटनामा संलग्नलाई हदैसम्मको कारवाही हुन्छ ।” सो अवसरमा मन्त्री ढकालले पीडितका आफन्त तथा चिकित्सकसित उपचारबारे जानकारी लिएका थिए । उनीसँगै सांसद यज्ञराज सुनुवार पनि पीडितलाई भेट्न अस्पताल पुगेका थिए । सो अवसरमा मन्त्री ढकालले कीर्तिपुर अस्पतालको अवस्थाबारे त्यहाँका पदाधिकारी तथा चिकित्सकसित जानकारी लिएका थिए । स्थानीय सीतापाइलामा बस्दै आएकी ओखलढुङ्गाकी २२ वर्षीया युवतीलाई बिहीबार साँझ भारतको विहार घर भई डल्लु बस्दै आएका फैयाज आलमले तेजाब प्रहार गरेका थिए । फैयाजलाई उनीसँगै बस्दै आएका रौतहट लक्ष्मीपुर–४ का मोहम्मद आलमले युवतीमाथि तेजाब छ्याप्न लगाएका थिए । दुवै अभियुक्तलाई प्रहरीले बिहीबार राति नै डल्लुबाट पक्राउ गरेको थियो । प्रहरी कल डिटेल र सिसी क्यामराको सहायताले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । मोहम्मद काठमाडौँको एक कपडा कारखानाका मालिक तथा फैयाज कामदार भएको खुलेको छ । पीडित युवती र उहाँकी दिदी पहिला मोहम्मदकै गार्मेन्टमा काम गर्दथे भने पछि पीडित युवतीले उक्त कारखनामा काम गर्न छाडेका थिए । पीडित युवतीको उपचारमा संलग्न चिकित्सक डा सुरेन्द्र बस्नेतले उहाँको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएको बताए । “पहिलाभन्दा अहिले घाउ ठीक हुँदै गएको छ”, उनले भने । उपचारमा केही समय लाग्ने बस्नेतको भनाइ थियो । तेजाब प्रहारबाट युवतीको अनुहारको दायाँपट्टिको भाग जलेको छ ।
Categorized in अपराध-दुर्घटना