STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दुर्गम गाउँमा ‘एक घर एक धारा’

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ११, बुधबार

बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ स्थित नर्जा गाउँमा ‘एक घर एक धारा’ निर्माण सम्पन्न भएको छ । खानेपानीको चरम सङ्कटमा रहेको विकट गाउँमा गाउँपालिकाले दुई वर्ष लगाएर एक घर एक धारा निर्माण गरिदिएको हो । 
गाउँपालिकाले गत आर्थिक वर्ष २०७४÷७५ मा रु १५ लाख, चालू आर्थिक वर्ष २०७५÷७६ मा रु १९ लाख र जनसहभागिताबाट रु छ लाख गरी कूल रु ४० लाखको लागतमा एक घर एक धारा निर्माण सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख जोकलाल बुढाले बताउनुभयो । 
पुस्ताँैदेखि खानेपानी समस्या भोग्दै आएका नर्जावासी घर घरमै पानी आएपछि निकै हर्षित भएका छन् । बस्तीभन्दा ७०० मिटर माथि रहेको बराहकोट महरेखोला मुहानबाट पानी ल्याएर नर्जा गाउँका ११० व्यक्तिगत तथा छ सार्वजनिक घरमा खानेपानीको सहज आपूर्ति गराइएको बराहकोट खानेपानी आयोजनाका अध्यक्ष चित्रबहादुर छन्त्यालले बताउनुभयो । 
“गाउँमा भौगोलिक हिसाबले निकै टाढा टाढा छरिएकाले पानी लिनका लागि छण्टौँ हिँड्नुपर्ने बाध्यता थियो”, छन्त्यालले भन्नुभयो, “एक घर एक धाराले समयको बचत मात्र हैन बचत भएको पानीबाट कृषिजन्य उत्पादन गर्नसमेत सहयोग पु¥याउने छ ।” खानेपानीको सहज आपूर्ति हँुदा गाउँमा सिंहदरबार आएको महसुस गर्न पाएको स्थानीय उपभोक्ता जालबहादुर रसाइलीले बताउनुभयो ।
खानेपानीको सङ्कट भएको गाउँमा घर घरै पानी आउँदा स्थानीयवासी दङ्ग परेको वडाध्यक्ष कुलबहादुर छन्त्यालले बताउनुभयो । छन्त्यालका अनुसार बस्ती पातलो भएका कारण पानी लिन नै यहाँका स्थानीयले समय गुजार्ने गरेका थिए । गाउँपालिकाको अधिकांश क्षेत्रमा खानेपानी समस्या रहेको बताउँदै आगामी दुई वर्षभित्रमा सबै वडामा एक घर एक खानेपानी धारा निर्माण अभियानलाई प्राथमिकता दिएर गाउँपालिका अगाडि बढिरहेको प्रमुख बुढाले बताउनुभयो । 
गाउँपालिकाले सडक नपुगेको स्थानमा सडक पु¥याउने, केन्द्रिय विद्युतीकरण गर्ने, शिक्षा तथा स्वास्थ्यको गुणस्तरमा वृद्धि गर्ने, गाउँमै ल्याब सेवा स्थापना गर्नेजस्ता कार्य गर्दा नर्जामा विकासको ढोका खुलेको स्थानीयले बताएका छन् । 
जिल्लाकै विकट पर्ने तमानखोला गाउँपालिका स्थानीय जनप्रतिनिधि आइसेकपछि क्रमशः सुगममा परिणत हुन पुगेको छ । घण्टाँै हिँडेर पानी ल्याउने बाध्यतामा परेका स्थानीयले घरमै धारो आउला भन्ने कल्पनासमेत गरेका थिएनन् । 
Categorized in राष्ट्रिय