निर्वाचनका लागि नेपाल–भारत सीमानाका तीनदिन अघिदेखि बन्द गरिने
Janjati Khabar – Janjati Khabar | २०७९ कार्तिक २२, मंगलबार
काठमाडौं - आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सर्लाहीसहित मधेश प्रदेशका नेपाल–भारत सीमा नाका तीनदिन अघिदेखि बन्द गरिने भएको छ । नेपाल–भारत दुवैतर्फका सुरक्षा अधिकारी तथा जिल्लाका पदाधिकारीहरु र सम्वद्ध अधिकारीहरुबीच मंगलबार भएको छलफलबाट मतदानको तीन दिनअघि अर्थात् ७२ घण्टा अघिदेखि नै सीमा नाका सिल गर्ने निर्णय भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार छलफलमा नेपालका तर्फबाट सर्लाही, रौतहट र महोत्तरीका प्रमुख जिल्ला अधिकारीसहित चारैवटा सुरक्षा निकायका प्रमुखहरु र दुवै देशका सुरक्षतकर्मीहरुको उपस्थिति रहेको थियो । बैठकमा जिल्लाका भन्सार कार्यालयका प्रमुखहरुको पनि उपस्थिति रहेको थियो ।
भारतको तर्फबाट भने सीतामढी जिल्लाका मुख्य जिल्ला अधिकारीको नेतृत्वमा त्यहाँका प्रहरी प्रमुख, भन्सार प्रमुख र एस.एस.बी. का अधिकारीहरुको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भारतीय अधिकारीहरुबाट पाएको सहयोगका लागि नेपाली पक्षले धन्यवाद व्यक्त गरेको थियो । साथै आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आवश्यक सहयोग तथा समन्वय गर्ने भारतीय पक्षले प्रतिवद्धता व्यक्त गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।
बैठकमा खुला सीमा नाकाका कारण हुन सक्ने चोरी तस्करी नियन्त्रण, लागुऔषध तथा मदिराको ओसारपसार नियन्त्रण, सूचना आदानप्रदान, अवैध मद्राको कारोबार नियन्त्रण तथा साना हातहतियारहरुको ओसारपसारमा रोक लागाउने र निर्वाचनको सुरक्षा संवेदनशीलताको विषयमा समेत छलफल भएका सर्लाहीको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।
Categorized in राष्ट्रिय

