STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नुवाकोट र रसुुवामा इद

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २२, बुधबार

मुसलमानको पुरानो बस्ती रहेको यहाँको त्रिशूलीका मुसलमानले हर्षोल्लासका साथ इद मनाइरहेका छन् । इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्रका अवसरमा जिल्लामा विभिन्न स्थानमा छरिएर रहेका मुसलमानले आज त्रिशूलीको इदगाहमा भेला भई सामूहिक नमाज पाठ गरेका छन् । व्यापार व्यवसायका सिलसिलामा नुवाकोट जिल्लाका देवीघाट, छहरे, वेत्रावती, सामरी, आप्रँह र चोकदे र रसुवा जिल्लालगायत क्षेत्रमा छरिएर रहेका मुसलमानहरु सामूहिक नमाज पाठ गर्न इदगाहमा भेला भएको स्थानीयवासी मोहमद मियाले जानकारी दिनुभयो । त्रिशूलीमा दुई सय पचास वर्ष अघिदेखि बसोबास गरिरहेका मुसलमानले जिल्लाको एक मात्र इदगाहमा भेला भई सामूहिक नमाज पाठ गर्दै एक महिनासम्मको रमजान रोजा उपवास सकिएको खुशीयालीमा एकार्कासँग आलिङ्गन गर्दै इद मुबारक साटेको मौलना अब्दुल बहावले जानकारी दिनुभयो । तीन दिनसम्म हर्षोल्लासपूर्वक मनाइने सो पर्वका अवसरमा मुसलमान समुदायले विशेषतः ‘सेवई’ को परिकार आफन्त र छरछिमेकीलाई खुवाउने चलन छ । नमाज पाठपछि उनीहरुले दानसमेत गरेका छन् । मुसलमानले इदका अवसरमा कमजोर आर्थिक अवस्था भएकाहरुलाई आफ्नो कमाइको १० प्रतिशत दानसमेत गर्ने चलन छ । रोजा, नमाज, जकात, हज र फित्तरा पाँच आधारभूत कुरा मुसलमानका लागि महत्वपूर्ण भएको मौलना बहावले बताउनुभयो ।
Categorized in राष्ट्रिय