नेपाल भाषासाहित्यको पर्याप्त विकास तथा सरक्षण गर्नेतर्फ सरकारको ध्यान जान सकेको छैन । लिच्छवि तथा मल्लकालमा विकास भएका नेपाल भाषासाहित्यका गीत, तथा काव्य महत्वपूर्ण ऐतिहासिक दस्तावेजका रुपमा मन्दिर, देवालय, चैत्य, थ्यासफू आदिमा अझै देख्न पाइन्छ तर पुस्तान्तरणमा कमजोरीका कारण यस्ता ऐतिहासिक दस्तावेज भविष्यमा लोप हुँदै जाने हो कि भन्ने चिन्ता छाएको छ । अरु कसैलाई भन्न वा देखाउन नहुने गुह्य मन्त्र, थ्यासफू, कविता, गीत र पूजापाठ आदिका समयमा वाचन गरिने ऐतिहासिक साहित्य पुस्तान्तरणमा जोड दिने अभ्यासमा देखिएका कमजोरी तथा नेपाल भाषा साहित्य क्षेत्रको संरक्षण तथा विकास गर्नुपर्छ भन्ने राज्यको विशेष पहलको. अभावका कारण यो ओझेलमा पर्न थालेको हो । लिखित इतिहास भएका धेरै भाषामध्ये नेपाल भाषा पनि विशेष हो । यो बोलीचालीका रुपमा प्रचलनमा आएको हजारौँ वर्ष भइसकेको अनुमान छ । इतिहासअनुसार चाँगुनारायणको अभिलेख (इसं ४६४) मा स्थानीय भाषाका रुपमा नेपाल भाषाको शब्द प्रयोग भएको पाइन्छ । कविकै नाम उल्लेख गरिएका कविताका सन्दर्भमा राजा महीन्द्र मल्ल (नेपाल संवत् ६८०–६९४) द्वारा रचित दुई गीत ‘कपटी मायान क्येन्या हे रामा ’ तथा ‘मेव मदु जिता छिँ शरण’ लाई लिन सकिन्छ । यस प्रकार नेपाल भाषा काव्य क्षेत्रमा पहिलो सर्जकका रुपमा राजा महीन्द्र मल्लको ऐतिहासिक देन छ । ‘कपटी माया’ नामक गीतलाई मानदास सुगतदासले नेपाल संवत् १०७७ मा सङ्कलन गर्नुभएको थियो । महीन्द्र मल्लपछि नेपाल उपत्यकामा राजपरिवारमा कविता वा गीत लेख्ने चलन पछिसम्म चलिरहयोे । साहित्य सिर्जना गर्ने राजामा जगत्ज्योति मल्ल, सिद्धिनरसिंह मल्ल, प्रताप मल्ल, श्रीनिवास मल्ल, जगत्प्रकाश मल्ल, जयप्रकाश मल्ल आदिका नाम प्रसिद्ध छ । मल्लकालमा राजासँगै रानीहरुले पनि कविता वा गीत लेखेको पाइन्थ्यो । यस सन्दर्भमा कवयित्री रानीमा ऋद्धिलक्ष्मी, भुवनलक्ष्मी, बुद्धिलक्ष्मी आदिको नाम प्रख्यात छ । त्यसबेला जनसाधारणबाट देखिएका कविमा जगतकेशरी, केशव उदास आदिको नाम चर्चित छ । शिलालेखमा नेपाल संवत् ३५३ (इसं १२३३) देखि नेपालमण्डलमा नेपाल भाषाको प्रयोग भएको पाइएको साहित्यकार राजेन मानन्धर बताउनुहुन्छ । नेपाल संवत् ४५४ को काष्ठमण्डपमा राखिएको ताम्रपत्रलाई नेपाल भाषाको पहिलो क्रिया रुपावली प्रयोग गरिएको अभिलेख मानिन्छ । बाह्रौँ शताब्दीका विभिन्न शिलापत्र तथा अभिलेखमा नेपाल भाषाका वाक्य वा वाक्यांशको प्रयोग बढेको तथा सबै ठाउँ र तहमा प्रयोग हुन थालेपछि यसको वाङ्मय र साहित्यले फस्टाउने मौका पाएको उहाँको धारणा छ । नेपाल संवत् ५८७ मा ‘प्रभुजन गन जि लुमनी’ गीतको रचना भएको हिस्ट्री अफ नेपालमा उल्लेख छ । मल्लकालको अन्त्यपछि कविता तथा गीत धेरैजसो मानिसले आफूले आराधना गरेका देवीदेवताका गुणगान गर्दै लेखेको पाइन्छ । नेपाल भाषा काव्य साहित्यका मौलिक विधाका रुपमा रहेको बाखँम्ये (कथा गीत) पनि त्यसबेला धेरै रचिएको पाइन्छ । राजा रणबहादुर शाहको राज्यकालमा बिफर लागेका बालबालिकालाई जबर्जस्ती काठमाडौँ उपत्यकाबाट बाहिर धपाएको प्रसङ्गमा लेखिएको ‘सितलामाजु’जस्ता गीत यसको उदाहरण हो । ‘जि वया ला लछि मदुनी’(म आएको एक महिना पनि भएको छैन) मा नवविवाहिता श्रीमतीलाई छाडेर भोटमा व्यापार गर्न जान बाध्य भएको युवकको मर्मस्पर्शी कथा उनिएको छ(‘मुनामदन’मा यसैको प्रभाव छ भनिन्छ) । जनस्तरबाट यस्ता काव्य रचना गर्ने कविमा बौद्ध पण्डित सुन्दरानन्द, अमृतानन्द, अभयानन्द, विश्वहर्षजस्ता कविको नाम आउँछ । उनीहरुले नेपाल भाषाको साहित्यलाई उचाइमा पु¥याएका थिए । बौद्धविद्वान् अमृतानन्दले १४ भन्दा बढी बौद्ध भजनको रचना गरेका थिए । राणाशासनबाट प्रतिबन्ध लागे पनि नेपाल संवत् १०२६ मा नेपाल भाषाका महाकवि सिद्धिदास महाजुले ‘सुन्दरी’नामक कविता रचना गरे । नेपाल संवत् १०२९ मा ‘प्रज्ञापारमिता‘ र ‘ललितविस्तर’जस्ता बौद्ध साहित्यको अनुवादले नेपाल भाषाको गद्य साहित्यलाई थप टेवा पु¥याएको थियो । त्यस्तै कवि योगवीरसिंह, पण्डित निष्ठानन्द बज्राचार्य, माष्टर जगतसुन्दर मल्ल, शुक्रराज शास्त्री, धर्मादित्य धर्माचार्य आदिले आआफ्नो ढङ्गले मातृभाषाबाट साहित्य सिर्जना गरेको मानन्धर बताउनुहुन्छ । फत्तेबहादुर सिंहले राणा शासनकालमा राज्यको निषेधका विरुद्धमा चुनौती दिँदै नेपाल संवत् १०५९ मा ’नेपाली विहार’ नामक कवितासङ्ग्रह जनसमक्ष ल्याए । नेपाल भाषाका महाकवि चित्तधर हृदय, सिद्धिचरण श्रेष्ठ, योगवीर सिंह आदिले कारागारभित्र नै कविता सिर्जना गरे । प्रजातन्त्रको स्थापनापछि नेपाल भाषाका क्षेत्रमा विभिन्न सङ्घसंस्थाको स्थापना भयो । च्वसापासा, नेपाल भाषा परिषद्, साहित्य मन्दिर आदि प्रमुख सङ्घसंस्था स्थापना हुुनाका साथै र चित्तरञ्जन नेपाली, हरिकृष्ण श्रेष्ठ, नारायणदेवी श्रेष्ठजस्ता नेपाल भाषाका कविको उदय भयो । नेपाल संवत् १०८४ मा पूर्णबहादुर वैद्यको ‘सरासू’ शीर्षक कवितासङ्ग्रह प्रकाशन भयो । सो सङ्ग्रहले श्रेष्ठ सिरपा प्राप्त ग¥यो । पूर्ण वैद्य, आनन्द जोशी, बुद्ध सायमी, योगेन्द्र प्रधान, श्यामसुन्दर सैंजु, सुन्दर मधिकर्मी, नातिबज्र, प्रतिसरा सायमी र त्रिरत्न शाक्यले नयाँ विचार बोकेर नेपाल भाषामा कविता लेख्न थाले । नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञसभा सदस्य ध्रुृव मधिकर्मीले नेपाल भाषा साहित्य मल्ल कालमा विकास हुँदै आएको बताउनुभयो । उहाँका अनुसार त्यसबेला रचना गरिएका गीत पूजा तथा उपासनाको उद्देश्य लिएर रचिने भएकाले त्यसमा धर्म र भक्तिजस्ता विषय परेको पाइन्छ । केही गीतमा रसरङ्ग र देश प्रेमजस्ता विषय पनि पाइन्छ । रासस