STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेवाः पत्रकार राष्ट्रिय दबूले गरे सत्यनारायण बहादुर श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ पौष १३, मंगलबार

नेवार पत्रकारहरुको छाता संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले  स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गरेको छ ।

स्वर्गीय श्रेष्ठको १ सय ६ औं जन्मजयन्ती अवसरमा  सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना गरेको एक समारोहका वक्ताहरुले सो माग गरेका हुन् । हाल नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई भन्ने गरिएको छ । भट्टराई नेपाली कांग्रेसका संस्थापक र नेपालको पहिलो सभामुख समेत हुनुहुन्छ ।

जन्मजयन्ती समारोहका वक्ताहरुले २०१२ चैत्र १६ गते स्वर्गीय कृष्णप्रसाद भट्टराईको नेतृत्वमा स्थापित नेपाल पत्रकार महासंघ सोही पत्रकार संघलाई पुनःगठन गरी बनाइएको उल्लेख गर्दै स्वर्गीय श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक रुपमा सम्मान गर्नुपर्ने माग गरेका थिए ।

सो अवसरमा नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महासंघको संस्थापक बहसबारे महासंघका सम्बद्ध पक्ष पन्छिन नहुने बताउनुभयो । 

समारोहमा नेपाल आदिबासी जनजाति पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष गजुरधन राईले संस्थापक अध्यक्षको बहसको उद्देश्य २०१२ सालमा महासंघको नेतृत्व गर्नुहुने स्वर्गीय भट्टराईप्रति अनादर वा अवमूल्यन गर्न नभई इतिहासमा बंग्याइएको तथ्यलाई स्थापित गर्नु हो भनि भनेका छन् । 

सो अवसरमा पत्रकार राष्ट्रिय दबूका सल्लाहकार एवं वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धरले सत्य र तथ्यका लागि लड्ने पत्रकारले इतिहासको तथ्यको सम्मान गर्नुपर्ने धारणा राखे ।

मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले सत्यतथ्य सबैलाई थाहा भएपनि कसैले सम्बोधन नगरेको बताउँदै महासंघको अहिलेको संस्थापक अध्यक्षमा देशकै गौरवशाली व्यक्तित्व अगाडि भएको हुनाले स्वर्गीय श्रेष्ठको योगदानको इतिहासको बिस्मृतिमा परेको हो भने ।

स्वर्गीय श्रेष्ठकी छोरी सुजिता मानन्धरले सो विषयमा थप अध्ययन र प्रमाणहरु जुटाउँदै सकारात्मक रुपमा अघि बढ्नुपर्ने बताइन् ।

सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजबीर बज्राचार्यले इतिहासको तथ्यलाई मेट्न खोजिएकोले पत्रकार महासंघको संस्थापकको मुद्दा न्यायको लडाईका रुपमा रहेको बताए । उनले संचारग्राममै संस्थापक अध्यक्षको मान दिई सत्यनारायण बहादुर श्रेष्ठको प्रतिमा स्थापना गर्नुपर्ने बताउँदै जन्मजयन्ती मनाउने जिम्मेवारी पनि पत्रकार महासंघले नै लिनुपर्ने कुरामा जोड दिए ।

सो अवसरमा पत्रकार राष्ट्रिय दबूका निर्वतमान अध्यक्ष श्रीकृष्ण महर्जनले इतिहासको अपव्याख्या गर्न नहुनेमा जोड दिए । 

उहाँको तस्वीरमा अतिथी तथा उपस्थिति पत्रकारहरुले माल्यार्पण गरी समारोहको शुरुआत गरिएको थियो।सोही समारोहमा प्रमुख अतिथीको रुपमा व्यक्ति विशेष कसैलाई उल्लेख नगरी उहाँलाई प्रतिकात्मक रुपमा कार्यक्रमको मुख्य व्यक्ति रुपमा सम्बोधन गरिएको थियो ।

नेपाली सञ्चारबृत्तमा गृष्मबहादुर देवकोटाको नेपाली छापाखानाको इतिहास नामक पुस्तक र केही अन्य दस्तावेजलाई आधार लिएर महासंघको संस्थापक अध्यक्ष बारे बहस हुँदै आएकोमा एक दशकयता पत्रकार राष्ट्रिय दबूले ‘न्यायको लडाई’ को  रुपमा अभियानलाई निरन्तरता दिदैैँ आउनुका साथै विगत ३ बर्षदेखि प्रत्येक पुस १३ गते उहाँको जन्मजयन्ती समारोहको आयोजना पनि निरन्तर गर्दै आइरहेको छ ।

Categorized in उपत्यका