परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता जनाउँछु : नवनियुक्त मन्त्री श्रेष्ठ
Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २९, बिहिबार
काठमाडौँ – नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
मन्त्रालयको पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले ठोस परिणाम देखिने गरी आफुले काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।
मन्त्रालयमा लामो समयदेखि जिम्मेवारीमा रहेका राज्यमन्त्री रामवीर मानन्धरसँग मिलेर परिणाम देखिने गरी कार्यसम्पादन गर्ने उनले बताए । जस्तोसुकै चुनौती आएपनि दुबै जनाको संयुक्त प्रयासले चिर्ने प्रयास गर्ने श्रेष्ठको भनाई छ । प्रतिकुलतासँग झस्केर बर्वाद भयो भनेर कहिले पनि निराश नबन्ने उल्लेख गर्दै उनले प्रतिकुलता भित्र अनुकुलता सिर्जना गरिने कामको परिणाममा आफुले विश्वास गर्ने उनले बताए । उनले कुरा भन्दा पनि काम र परिणामलाई विश्वास दिने पनि बताए ।
यसैगरी नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै मन्त्रालयहरुको सूचनालाई एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था मिलाउने बताएका छन । बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले कुनैपनि मन्त्रालयको सूचना लुकाएर बस्ने स्थितिको अन्त्य गर्दै एकद्वार प्रणालीमार्फत सूचना दिने व्यवस्था मिलाउने बताए ।
कुनैपनि मन्त्रालयमा गलत कुराहरु छन भनेपनि त्यसको अनुसन्धान गरेर बाहिर ल्याउनका लागि मन्त्रालयले आफ्नो काम गर्ने समेत उनले बताए । यस्तै मन्त्री गुरुङले आफुलाई सञ्चार क्षेत्र बुझेको छैन भनेर गलत सुझाव दिनेमाथि कारबाही गरिने पनि बताए । कसैले पनि बाङ्गो टिङ्गो बाटोबाट सुझाव दिए आफुले छिटो बुझ्ने प्रयत्न गर्ने र त्यस्ता व्यक्तिसँग सम्बन्ध कायम नगर्ने प्रतिवद्धता समेत मन्त्री गुरुङले व्यक्त गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रीमण्डल पुनरगठन गरेपछि महिला तथा समाजिक मन्त्री रहेका मन्त्री गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका हुन ।
श्रेष्ठ र गुरुङले बिहीबार विहान पद तथा गोपनियताको सपथ लिएका थिए । शितलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विष्णु पौडेल र लिलानाथ श्रेष्ठले पनि पद तथा गोपनियताको सपथ लिएका थिए ।



