STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पर्यटन प्रवद्र्धनका लागि दौडको सहारा

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १८, आइतबार

जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीयस्थलको प्रवद्र्धनका लागि दौडको सहारा लिने गरिएको छ । जिल्लाका स्थानीय तह एवं सङ्घसंस्थाले पर्यटकीयस्थलको प्रचारप्रसार गर्न दौड प्रतियोगिता आयोजना गर्ने गरेका हुन् । नेपाल भ्रमण वर्ष २०२० चलिरहेका अवस्थामा उक्त ठाउँमा पर्यटक आकर्षित गर्न खेलकूदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखिएको बताइएको छ । तनहुँको देवघाट गाउँपालिका–२ स्थित पर्यटकीयस्थल घण्टाचुलीको प्रवद्र्धनका लागि दौड प्रतियोगिता सञ्चालनको तयारी गरिएको छ । प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थलको प्रवद्र्धनका लागि दौड प्रतियोगिता गर्न लागिएको हो । देवघाट युवा तथा खेलकूद विकास समितिको आयोजनामा यही फागुन २३ गते कोटबैदी पालुराजा मन्दिरदेखि छिपछिपे दर्शन भञ्ज्याङसम्म ६।५ किमी दूरीको दौड प्रतियोगिता गर्न लागिएको कार्यक्रम संयोजक एवं घण्टाचुली पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष खड्क आलेले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावककलाई क्रमशः रु २० हजार, १५ हजार र १० हजार नगद प्रदान गरिनेछ । देवघाटधामको शिरमा अवस्थित घण्टाचुली समुन्द्र सतहदेखि एक हजार ६३० मिटर उचाइमा छ । धार्मिक, ऐतिहासिक, प्राकृतिक एवं पुरातात्विक महत्व बोकेको यस ठाउँमा राजदरबार, राजगद्दी, चौकीका भग्नावशेष रहेको छ । यहाँ रहेको घण्टाचुली कालिका मन्दिरमा मागेको कुरा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । दुई सय हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको घनाजङ्गलमा अवस्थित यस ठाउँमा लालीगुराँस ढकमक्क फूलेको देख्न सकिन्छ । यस ठाउँबाट नेपालका १७ जिल्ला देख्न सकिने आलेले बताउनुभयो । उहाँका अनुसार यस ठाउँबाट हिमशृङ्खलाका मनोरम दृश्य पनि अवलोकन गर्न सकिन्छ । समितिले घण्टाचुलीको प्रचारप्रसारका लागि फागुन २३ गतेदेखि २७ गतेसम्म दोस्रो घण्टाचुली पर्यटन महोत्सवको आयोजना गरेको छ । यसैगरी व्यास नगरपालिकाले पनि अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर यही फागुन २५ गते व्यास गुफादेखि तनहुँसुरसम्म महिला दौड प्रतियोगिता गर्न लागेको छ । गत माघ १६ गते शहीद दिवसको अवसर पारेर व्यास नगरपालिका–५ मानहुँदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म अल्ट्रा म्याराथन प्रतियोगिता गर्दै आएको नगरपालिकाले यस वर्षदेखि नारी दिवसका अवसरमा खुला हाफ म्याराथन गर्न लागेको उपप्रमुख मीरा जोशीले जानकारी दिनुभयो । पुरुष म्याराथनका कारण अहिले मानहुँकोट र पुलिमराङको व्यापक प्रचारप्रसार भएको नगरपालिकाले जनाएको छ । व्यास जन्मभूमि दमौली र ऐतिहासिक महत्व बोकेको तनहुँसुरलाई खेलका माध्यमबाट प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यसहित दौड प्रतियोगिता गर्न लागिएको जोशीले बताउनुभयो । एक्काईस किमी दूरीको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ४१ हजार ७६, रु ३१ हजार ७६ र रु २१ हजार ७६ प्रदान गरिनेछ । प्रतियोगितामा सान्त्वना हुने पाँच जनालाई जनही रु ११ हजार ७६ प्रदान गरिनेछ । व्यासगुफाबाट शुरु हुने दौड सफासडक, पृथ्वीराजमार्गको तालघरे, मुसेखोला, घाँसीकुवा, धरमपानी, चण्डीथान, गद्दीचौतारा हुँदै व्यास–११ स्थित तनहुँसुर दरबारमा पुगेर सकिनेछ । प्रतियोगितामा देशभरबाट महिला धावकको सहभागिता रहने नगरपालिकाको अपेक्षा छ ।
Categorized in खेलकुद