STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पौडेल पक्षले गरे तोकिएको मितिमा महाधिवेशन गर्न माग

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण २६, मंगलबार

नेपाली कांग्रेसका पौडेल पक्ष जिल्ला सभापतिहरूले तोकिएको मितिमा महाधिवेशन गर्न माग गरेका छन् । काठमाडौंमा सोमबार र मंगलबार भएको भेलामा सहभागी जिल्ला सभापतिहरूले १७, १८ र १९ भदौमा तोकिएको महाधिवेशन जसरी पनि सम्पन्न गर्नुपर्ने माग राखेका हुन् ।

भेलाले क्रियाशील सदस्यहरूको छनोटसम्बन्धी विवाद तुरुन्त समाधान गर्न पनि पार्टी नेतृत्वलाई आग्रह गरेको छ । तत्काल विवाद समाधान नहुने भए विवाद रहेका स्थानमा १३औँ महाधिवेशनको क्रियाशील सदस्यलाई आधार मानेर विवादको निकाश दिन पनि सभापतिहरूको भेलाले पार्टी नेतृत्वलाई आग्रह गरेको छ ।

पार्टीको वैधानिकता बचाउन जुन छिटो विधि हुन्छ त्यो विधि अपनाएर महाधिवेशन गर्न भेलामा सहभागीहरुले सुझाव दिएको नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले जानकारी दिए । काठमाडौंको एक होटलमा दुई दिनसम्म चलेको भेलामा ५६ जिल्लाका सभापतिहरू सहभागी भएको नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले जानकारी दिए ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन नगर्न कानुनी परामर्श गरेको, क्रियाशील सदस्य विवाद समाधान नगरेको साथै निर्वाचन आयोगमा आफ्नो प्रभाव देखाएर पर धकेल्ने प्रयास गरेको निष्कर्ष भेलाले निकालेको काभ्रे जिल्ला सभापति आचार्यले बताए ।

पार्टीको विधानभन्दा माथि देशको संविधान रहेकोले संविधान विपरीत हुने काम नगर्न पार्टी सभापति देउवालाई सचेत गराउने निष्कर्ष भेलाले निकालेको सभापति आचार्यले बताए ।  भेलामा सहभागीहरूलाई सम्बोधन गर्न नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू प्रकाशमान सिंह, रामशरण महत, सुजाता कोइराला, शेखर कोइराला होटल पुगेका थिए ।

Categorized in राजनीति