प्रचण्डसँग चुनाव लड्न बादल तयार
Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन ८, शुक्रबार
नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले पार्टीले निर्णय गरे आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनाव लड्न तयार रहेको बताएका छन् ।
शुक्रबार बिहान चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै बादलले पार्टीले निर्णय गरे आफू प्रचण्डसँग चुनाव लड्न तयार रहेको बताएका हुन् ।
‘पार्टीको निर्णय मैले मान्नुपर्छ,’ उनले भने, ‘पार्टीले निर्णय गरेर पठायो भने प्रचण्डसँग म चुनाव लड्न तयार छु ।’ आगामी चुनावमा प्रचण्ड भर्सेस बादल हुन सक्छ भन्ने पत्रकारहरूको प्रश्नमा बादलले भने, ‘पार्टीले निर्णय गरे भोलि त्यो हुन सक्छ ।’
बादलले अमेरिकी सहायता परियोजना (एमसीसी) संशोधनसहित पारित गर्नुपर्ने बताए । ‘एमसीसीका केही कुरा संशोधन गर्नुपर्नेछ । त्यो संशोधन गरेर पारित गर्नुपर्छ,’ उनले भने ।
बादलले वर्तमान सरकारले लोकतन्त्रविरोधी काम गरिरहेको आरोप पनि लगाए ।
‘सरकारले छिमेकीविरुद्ध प्रदर्शन र बोल्न पाइँदैन । बोले जेल हाल्ने चेतावनी दिएको छ । अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने यो लोकतन्त्रविरोधी काम हो,’ उनले भने ।
Categorized in राजनीति

