STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रहरीद्वारा गाँजा नष्ट

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ९, सोमबार

तनहुँको ब्यास नगरपालिका–७ जलादीगाउँमा प्रहरीले तीन सय बोट गाँजा नष्ट गरेको छ । बलबहादुर नेपाली र डिलकुमारी अधिकारीको जग्गामा उम्रिएका तीन सय बोट गाँजा प्रहरीले आइतबार नष्ट गरेको हो । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी कार्यक्रम सञ्चालन भइरहेको सन्दर्भमा स्थानीयवासीको सहभागितामा गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । बारीमा उम्रिएको गाँजाका कारण युवाहरुको आवतजावत बढ्नसक्ने भएकाले स्थानीयवासीको सहयोगमा गाँजा फँडानी गरिएको प्रनाउ लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय चलिरहेको सन्दर्भमा स्थानीयवासीलाई लागुऔषध विरुद्ध सचेतना जगाउँदै गाँजा फँडानी गर्ने कार्यक्रम सञ्चालन गरेका छौँ ।” गाउँघरमा स्थानीयवासीको बारीमा गाँजाका बोट उम्रिने गरेपछि स्थानीयवासीकै समन्वयमा प्रहरीले नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । स्थानीयवासीले आफूहरुले गाँजा नलागएको प्रष्ट पार्दै नष्ट गर्ने अभियानमा प्रहरीलाई साथ दिइरहेका छन् । प्रहरीले केही दिनअघि मात्रै भानु नगरपालिका–५ मैवलमा पनि गाँजाको बोट नष्ट गरेको थियो । कैदीबन्दीलाई लागुऔषध प्रशिक्षण जिल्ला प्रहरी कार्यालय तनहुँले कारागारमा रहेका कैदीबन्दीलाई आइतबार लागुऔषध विरुद्ध प्रशिक्षण दिएको छ । कारागारमा रहेका थुनुवा तथा कैदीहरुलाई लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी कार्यक्रमअन्तर्गत लागुऔषधसम्बन्धी प्रशिक्षण दिइएको हो । प्रहरी निरीक्षक राजकुमार सुनार र न्यु डे फेलोसीपका पवन चुमी मगरले सहजीकरण गर्नुभएको प्रशिक्षणमा ९५ कैदीबन्दीको सहभागिता रहेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो ।
Categorized in अपराध-दुर्घटना