STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्लास्टिकबाट इँटा, युनिसेफको सहयोगमा कारखाना निर्माण

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १४, मंगलबार

संयुक्त राष्ट्रसंघ बालकोष युनिसेफ ले प्लास्टिकजन्य फोहोरबाट इँटा बनाउने उद्देश्यले पश्चिम अफ्रिकी मुलुक आइभरीकोस्टमा कारखाना स्थापना गर्ने भएको छ । बालकोषका प्रवक्ताले निजी क्षेत्रको सहकार्यमा स्थापना गरिने कारखानाकाबाट उत्पादित इँटा स्कुल निर्माण प्रयोग गरिने जानकारी दिनुभयो । प्लास्टिकबाट उत्पादित यी इँटा निकै टिकाउ र न्यून लागतमा उत्पादन हुने बताइएको छ । राष्ट्रसंघका उपप्रवक्ता फरहान हकले आइभरीकोस्टमा बालबालिकाका लागि १५ हजार कक्षाकोठाको अभाव रहेको बताउँदै नयाँ योजनाले विद्यार्थीलाई पठनपाठनका लागि सहज वातावरण निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – यो नवीन साझेदारीबाट आगामी दुई वर्षभित्रै २५ हजारभन्दा बढी बालबालिकाका लागि ५०० कक्षाकोठा निर्माण हुनेछन् । बालकोषका कार्यकारी निर्देशक हेररिता फोरले पनि एक वक्तव्य प्रकाशन गरी अफ्रिकी बालबालिका र समुदायले सामना गर्नु परेका चुनौती ठूला रहेको बताउनुभयो । बालकोषले कोलम्बियाली सामाजिक संस्था कोन्सेप्टोस प्लास्टिकोससँगको साझेदारीमा आइभरीकोस्टको राजधानी अबिजानमा यो कारखाना स्थापना हुन लागेको जनाएको छ । कारखानाको निर्माण कार्य यसै वर्षको अन्त्यसम्ममा पूरा हुनेछ । बालकोषका अनुसार एक वर्षमा कारखानाबाट ९ हजार ६०० टन प्लास्टिकजन्य फोहोर प्रशोधन हुनेछ । यसअघि नमुनका रुपमा कोलम्बियामा निर्माण गरिएका प्लास्टिक इँटाबाट गोन्जाभिल्ले, डिभो र टोउमोडीमा नौ वटा कक्षाकोठा बनाइएको छ । नमुना परीक्षणमा प्लास्टिकका इँटाको प्रयोग निकै सफल भएको बालकोषले जनाएको छ ।
Categorized in अन्तर्राष्ट्रिय