फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्छ ः नेता पौडेल
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १, आइतबार
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिनुभएकोे छ । आज यहाँ पत्रकारसँगको कुराकानीमा उहाँले महाधिवेशन नियमित हुनुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।
पार्टीको चार वर्षको कार्यकाल भएकाले नियमित ढङ्गबाट महाधिवेशन गर्ने कुरालाई आलटाल गर्न नहुनेमा जोड दिँदै नेता पौडेलले भन्नुभयो,“अस्ति हामीले सभापतिलाई भेटेर भन्यौ, अब महाधिवेशनको प्रक्रिया शुरु गर्नुपर्छ तर कामको छाँटकाट भने छैन ।”
पार्टीको मुहानको रुपमा रहेको नेपाल विद्यार्थी सङ्घको महाधिवेशन नगरेर भङ्ग गर्ने काम गरिएकामा उहाँले रोष प्रकट गर्नुभयो । पार्टीको जागरण अभियान प्रचारात्मक भए पनि सङ्गठनात्मक रुपमा केही हुन नसकेको उल्लेख गर्दै नेता पौडेलले भन्नुभयो, “जागरण अभियान प्रचारात्मक भयो, कार्यकर्ता चलायमान भए तर सङ्गठानात्मक रुपमा केही पनि भएन ।”
फरक प्रसङ्गमा गुठी विधेयक सरोकारवालासँग छलफल नगरी ल्याइएकाले यसले संस्कृति तथा परम्परालाई असर पु¥याउँछ भन्दै उहाँले सरकारले एकपछि अर्को गर्दै गल्ती गरिरहेको आरोप लगाउनुभयो । नेता पौडेलले भन्नुभयो, “सरकारलाई गलत कार्यबाट रोक्ने काम हाम्रो हो, जनताको विरोध हुँदा हुँदै आएका विधेयक काङ्ग्रेसले पारित हुनदिदैन ।”
Categorized in राष्ट्रिय