फाष्ट ट्रयाकबाट नागरिकता विधेयक पारित गर्नु देशको हितमा छैन : प्रेम सुवाल
Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण ६, शुक्रबार
काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा नागरिकता सम्बन्धी संशोधन विधेयकमाथि दफावार छलफल सुरु भएको छ ।
संसद सचिवालयले आजको लागि सम्भावित कार्यसूचीमा राखिएका अन्य विषय हटाएर नागरिकता विधेयकलाई मात्रै कायम राखेको थियो । प्रतिनिधिसभाको आजको बैठक सुरु भएर उक्त विधेयकमाथि दफावार छलफल सुरु भएको हो ।
‘फास्ट ट्रयाक’मार्फत नागरिकता विधेयक पारित गराउने संसदको उद्देश्य रहेको देखिन्छ । यसैका लागि कार्यसूचीबाट अन्य विषय हटाएर अहिले नागरिकता सम्बन्धी संशोधन विधेयकमाथि दफावार छलफल जारी राखिएकाे छ ।
फाष्ट ट्रयाकबाट पारित गर्नु देशको हितमा छैन : प्रेम सुवाल
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गर्नु देशको हितमा नभएको बताएका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले नागरिकता विधेयक फाष्ट ट्रयाकबाट पारित गर्न खोज्नु देशको हितमा नभएको बताएका हुन् ।
उनले नागरिकता विधेयकलाई सम्बन्धित समितिमा पठाउनुपर्ने बताए । नागरिकताको विषय सार्वभौमिकतासँग सम्बन्धित विषय भएकाले जनतासँग समेत छलफल गर्नेगरी कार्यसूची बनाउनु जरुरी रहेको उनले बताए ।
उनले भने, ‘नागरिकता विधेयक फाष्टट्र्याकबाट पारित गर्न खोजेको विषय देशको हितमा छैन । सम्बन्धित समितिमा विधेयक पठाउनु जरुरी छ । र यो विधेयक सार्वभौमिकतासँग सम्बन्धित भएको हुँदा जनतासँग समेत छलफल गर्नेगरी कार्यसूची बनाउनु जरुरी छ ।’
नेपालको नागरिकता समस्या समाधान गर्न खुला सीमा बन्द गर्नुपर्ने उनको भनाइ छ । आमा र बुबा दुवै वंशजको नेपाली नागरिकका छोराछोरीलाई मात्र वंशजको नेपाली नागरिकता दिनुपर्ने उनले बताए । जन्मको आधारमा दिएको नागरिकता विदेशीले पनि पाएकाले छानविन गरी खारेज गर्नुपर्ने उनले बताए ।
सांसद सुवालले निर्वाचन, सरकारी सेवा, राजनीतिक नियुक्ति, उद्योग, व्यापारको लागि वंशजको नेपाली नागरिक आवश्यक हुने व्यवस्था गर्नु जरुरी रहेको उल्लेख गरे । त्यस्तै नेपालीले विदेशीसँग विवाह गर्न निरुत्साहित गर्नुपर्ने र नेपालीसँग विवाह गरेका महिला वा पुरुषलाई २० वर्षपछि नेपालको भाषा र संस्कृति बारे लिखित र अन्तर्वार्ता परीक्षा उत्तिर्ण गरेमा नेपालको कृतिम नागरिकता दिनुपर्ने बताए ।
Categorized in राजनीति

