STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बोनम्यारो क्यान्सरपीडितलाई सहयोग

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २, बिहिबार

बेँसीशहर नगरपालिका–९ स्थायी ठेगाना र हाल चण्डीडाँडा–७ की बोनम्यारो क्यान्सरपीडित १९ वर्षीया सुष्मा दीक्षितलाई आर्थिक सहयोग गरिएकोछ । ‘सुष्मा दीक्षित बचाऊ’ अभियानका लागि डेनमार्कमा रहेका ४५ नेपालीबाट सङ्कलन भएको रु एक लाख २७ हजार ५९७ बुधबार सुष्माकै घर पुगेर सुरेश घिमिरेका पिता खिमबहादुर घिमिरे एवं आमा विष्णुमाया घिमिरेले सुष्माकी आमा शान्ति दीक्षितलाई हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरण कार्यक्रममा रोट्र्याक क्लब अफ लमजुङका पूर्वअध्यक्ष रेशम घिमिरे, छिमेकीलगायतको सहभागिता थियो । सो स्थानमा घर भई हाल डेनमार्कमा कार्यरत सुरेश घिमिरे र उहाँकी श्रीमती सरिता खड्काको पहलबाट डेनमार्कमा बस्ने नेपालीसँग सहयोग सङ्कलन गरी पीडितलाई रकम पठाइएको हो । काठमाडौँस्थित त्रिभुवन शिक्षण अस्पतालमा उनी करीब सात महीनादेखि उपचार गरिरहेको पीडितकी आमा दीक्षितले बताउनुभयो । छोरीको उपचारका क्रममा यसअघि दुबई, अमेरिका, कतार, साउदीलगायतका अन्य देशमा रोजगारीका सिलसिलामा गएका नेपालीबाट रु छ लाख सहयोग प्राप्त भएको उहाँले बताउनुभयो । हालसम्म नेपाल सरकारबाट रु एक लाख बराबरको औषधि निःशुल्क र बेँसीशहर नगरपालिकाबाट रु २० हजार प्राप्त गरेको परिवारले जनाएको छ । परिवारका अनुसार सहयोग प्राप्त रकम, जग्गा बेचेर, ऋण खोजेर र घरजग्गा बैंकमा धितो राखेर आएको रकम रु ३० लाख हालसम्म खर्च भइसकेको छ । पीडितकी आमा दीक्षितले भन्नुभयो, “छोरीलाई भारतमा लगी थप उपचार गर्नका लागि रु ६० लाखभन्दा बढी लाग्ने अस्पतालले बताएको छ ।” यतिका रकम हामीसँग छैन, परिवारको आर्थिक अवस्था कमजोर रहेको भन्दै उहाँले सहयोगी मन भएका सबैले सहयोग गरी छोरीलाई बचाउन आग्रह गर्नुभयो । अस्पतालले केही महीनाअघि नै उपचारका लागि भारत लैजान सुझाव दिए पनि आर्थिक अवस्थाकै कारण रोकिएर बसिरहेको उहाँले बताउनुभयो । दैनिक आठ पिन्ट सेतो र रातो गरी रगत दिइरहनुपर्छ, ज्वरो त्यस्तै आउँछ, दैनिक हजारौँ रकम खर्च हुने गरेको परिवारको भनाइ छ । बोनम्यारो क्यान्सरपीडित दीक्षितका बुबा विष्णु दीक्षित, आमा शान्ति, एक भाइ सुजल र बहिनी रेश्मा छन् । पीडितकी बुबा भने कामको सिलसिलामा साउदीमा हुनुहुन्छ ।
Categorized in राष्ट्रिय