STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भदाै १५ सम्म उपत्यकामा कडिकडाउ • विभिन्न निषेधाज्ञा जारी

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ३०, शुक्रबार

काठमाडौँ – कोराेना संक्रमण बढेसँगै काठमाडौँ उपत्यकाका तीन जिल्लामा कडिकडाउ गर्नुका साथै विभिन्न प्रकारका निषेधाज्ञा जारी भएकाे छ । काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले उपत्यकामा तीनै जिल्लामा तीन दर्जन भन्दा बढी सेवा र व्यापार/व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ । अर्को निर्णय नभएसम्मका लागि उपत्यकामा खुल्ला स्थानमा मानिस भेला/जम्मा हुन, भीडभाड गर्न, सभा र जुलुस गर्न, जात्रा महोत्सव सञ्चालन, दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि, स्वास्थ्य मापदण्डविपरीतका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्य सम्बन्धी जमघटलगायतलाई निषेध गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहालले जानकारी दिए । साउन ३० गते राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मको लागि सो प्रतिबन्ध लगाइएको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले शुक्रबार साँझ जारी गरेको छुट्टाछुट्टै आदेशमा उल्लेख गरिएको छ । उनका अनुसार सबै प्रकारका सभा–गोष्ठी, तालिम, सेमिनार, हल/पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्युटीपार्लर, स्पा, स्वीमिङपुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय सञ्चालनमा पनि रोक लगाइएको छ । संयुक्त सुरक्षा बैठकले संग्रहालय, चिडियाखाना, फुटपाथ/खुल्ला ठाउँ र ठेलागाडा तथा साइकलबाट सञ्चालित व्यापार–व्यवसाय, कवाडी संकलन, स्वास्थ्य मापदण्ड विपरीत श्रमिक/कामदार ओसारपसार तथा टेक–वे बाहेक होटल/रेस्टुरेन्टमा पनि जमघट गर्न प्रतिबन्ध लगाएको छ । निर्णय कार्यान्वयन भए नभएको अनुगमन गर्न आवश्यकता अनुसार प्रशासनको टोली अनुगमनमा खटिने पनि प्रजिअ दाहालले बताए । तीनवटै प्रशासनले यसअघि साउन २५ गतेदेखि भदौ ८ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा स्थगन गरिसकेको छ ।
Categorized in उपत्यका