STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भद्रपुर नाकामा सामान ओसार्न राँगागाडी १

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २२, बुधबार

जतिबेला तराईमा मोटरगाडीको चलन आइसकेको थिएन, त्यसबेला सामान ढुवानीका लागि गोरुगाडा वा राँगागाडाको विकल्प थिएन । हरेक किसान र व्यापारीसँग गाडा हुन्थे । किसानहरु खेतमा गोबर मल लैजान, पाकेको बाली घर भित्र्याउन र राइस मिलमा कुटानी पिसानीको लागि धान लैजान राँगागाडीको प्रयोग गर्थे । पहिला पहिला बिहेमा जन्ती लैजान र बेहुलाबेहुली बोक्न समेत गोरुगाडीको प्रयोग गर्ने चलन थियो । अहिले प्रविधिको विकासले चलन फेरिएको छ । गोरुगाडा वा राँगागाडा अब इतिहास भइसके । कार, जिप, ट्रक र ट्र्याक्टर व्यापक हुँदै गएपछि जनावरले तान्ने गाडीहरु प्रायः गायब भएका छन् । तर, यतिबेला भद्रपुर भन्सार कार्यालय या छेवैको मेची पुलमा पुग्नुभयो भने सामान लाद्न र झार्न भ्याइनभ्याई अवस्थामा राँगागाडीको एक दर्जन जतिको लस्कर देख्न पाउनु हुनेछ । व्यापारीहरुले भारतको कोलकाता, सिलीगुढी, मुम्बईदेखि आयात गरेर नेपाल ल्याएका सामग्रीहरु भारतको विहारस्थित गलगलिया नाकाबाट राँगागाडीमा लादेर भद्रपुर भन्सार ल्याउने गरेका छन् । मोटरको बाटो सहज नभएको कारण व्यापारीहरुसँग राँगागाडीमा ढुवानी गर्नुको विकल्प पनि छैन । दुई देशबीचको नाकामा आजको एक्काइसौं शताब्दीमा राँगागाडीमा सामान ओसारपसार गर्नु व्यापारीहरुको रहर होइन । भारत विहारको गलगलिया र नेपालको भद्रपुर जोड्ने मेची नदीमा हालै निर्माण गरिएको पक्की पुल सञ्चालनमा आए पनि भारतले आफ्नो भागतिरको ४०० मिटर बाटो नबनाइदिँदा ढुवानीका लागि ट्रक, जिप, ट्र्याक्टर जस्ता साधन प्रयोग गर्न सकिएको छैन । सामान ल्याउनै पर्ने बाध्यताका कारण व्यापारीहरुले पहिल्यैदेखिको राँगागाडी रोज्न बाध्य भएका हुन् । “पहिले बाटो थियो पुल थिएन, अहिले पुल बन्यो बाटो छैन,” भद्रपुर नगरपालिका–५ का कपडा व्यापारी सञ्जीव घोषले भन्नुभयो – “गलगलिया भन्सारमा जाँच गराएर राँगागाडीमा सामान नेपाल भित्र्याउनु पर्दाको सकस हामीलाई मात्र थाहा छ । भारतले बाटो बनाइदिए सुविधा हुनेथियो ।” उहाँले एकपटकमा राँगागाडीमा दश पोका कपडा ल्याउने गरेको बताउनुभयो । एकसय पोका गाडीमा एकैपटकमा ल्याउन पाएको भए दुई चार हजार रुपैयाँ भाडामा खर्च गरे पुग्ने उहाँको भनाइ छ । तर, अहिले उहाँलाई दश पोका दश पटकमा राँगागाडीमा ओसार्नु परिरहेको छ । राँगागाडीलाई प्रति पोका रु १५० तिर्ने गरिएको छ । उहाँका अनुसार मेची पुल बने पनि भारतीय सीमा क्षेत्रमा बाटो नहुँदा यस्तो सास्ती खेप्नु परेको हो । उहाँ भद्रपुर भन्सार कार्यालयमा सबैभन्दा बढी राजस्व बुझाउने व्यापारीमध्येमा आफू रहेको दाबी गर्नुहुन्छ । नेपालतर्फ सुविधा सम्पन्न पुल र बाटो निर्माण भए पनि भारततर्फ समानस्तरको भन्सार र सडकको सुविधा छैन । गत माघ १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मेची पुलको उद्घाटन गर्नुभएको थियो । पुल बनेपछि भद्रपुर भन्सारबाट व्यापार बढ्ने अपेक्षा गरिएको थियो । तर, भारततिर सडक अधुरै हुँदा व्यापार अपेक्षित रुपमा बढ्न सकेको छैन । मेची पुलको पूर्वी छेउबाट १५० मिटरसम्म नेपालकै भूभाग पर्दछ । पुलको मुख भारतको पश्चिम बङ्गाल र विहार प्रान्तको सीमा क्षेत्रमा परेको कारण सडक कुन प्रान्ततिर लैजाने भन्नेमा भारतमा विवाद कायमै रहँदा सडकको निर्माण हुन नसकेको बुझिएको छ । भद्रपुर बजारमा फलामको व्यापार गर्दै आउनुभएका सुरेश साहले सिलिगुढीबाट सामान खरिद गरेर गलगलियासम्म गाडीमा ल्याउने गरेको र नेपालतर्फ चाहीँ प्रति राँगागाडी भारु रु ४०० तिरेर ढुवानी गर्दै आएको बताउनुभयो । उहाँका अनुसार भारततर्फ बाटो बनिसकेको भए सो सामान रु २०० तिर्दा नेपाल ल्याउन सकिन्थ्यो । झापा उद्योग वाणिज्य सङ्घका महासचिव पङ्कज शर्माले व्यापारीले पुल बन्दा पनि र नबन्दा पनि उस्तै समस्या भोगिरहनु विडम्बना भएको बताउनुभयो । उहाँले बाटो अभावमा पिकअप भ्यान, ट्रक र कन्टेनर नआउँदा व्यापारीहरुले भारतबाट आयात गरिने सामान ल्याउन राँगागाडीको प्रयोग गरेको बताउनुभयो । भद्रपुर भन्सार कार्यालयका प्रमुख फडिन्द्र खतिवडाले शुरु शुरुमा आफू भन्सार कार्यालयमा आउँदा सामान लाद्ने–झार्ने गरिरहेका राँगागाडी देखेर छक्क परेको तर, अहिले सामान्य लाग्न थालेको बताउनुभयो । व्यापारीहरुले सामान राँगागाडीमै ल्याएर भन्सारको गोदाममा राख्ने गर्छन् । व्यापारीहरुले भारतीय भन्सारमा प्रक्रिया पूरा गरेर राँगागाडीमा सामान नेपाल ल्याई राजस्व बुझाउने गरेका छन् । “भारतीय पक्षले बाटो बनाउन डिपिआर गरिसकेको थाहा भएको छ,” उहाँले भन्नुभयो – “पुल बनिसकेर पनि भारततिर लिङ्क रोड नहुँदा समस्या भएको हो । चाँडै समाधान हुने अपेक्षा छ ।” भद्रपुर भन्सारलाई सरकारले स्तरोन्नति गरेर दश महिना अघि पूर्ण भन्सारको मान्यता दिएको थियो । गएको आठ महिनामा यो भन्सारले रु १३ करोड २१ लाख राजस्व सङ्कलन समेत गरिसकेको छ । भारततिर लिङ्क रोड बनेमा व्यापार सहज हुनाको साथै राजस्व सङ्कलन निकै बढ्ने भन्सार प्रमुख खतिवडा बताउनुहुन्छ । कुनै बेला नेपालकै मुख्य तीन भन्सारमा गणना हुने भद्रपुर भन्सार पूर्व–पश्चिम राजमार्गको निर्माणसँगै मेची पुल काँकडभिट्टामा बनेपछि मृतशहर जस्तै भएको थियो । उद्योग व्यापार सुस्ताएको थियो । लामो प्रयासपछि मेचीमा पक्की पुल बनेकाले भद्रपुरवासीले व्यापारिक चहलपहल बढ््ने आशा गरेका थिए । तर, भारतले पुल जोड्ने ४०० मिटर सडक नबनाइदिँदा भद्रपुरको सपना अधुरै मात्र भएको छैन, फेरि राँगागाडीको युगमै फर्किनु परेको छ ।
Categorized in राष्ट्रिय