भरतपुर अस्पतालमा एक युवककाे मृत्यु, डाेल्पामा मृत्यु भएका एकजनामा कोरोना संक्रमण
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २४, शनिबार
काठमाडाैं - चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा एक युवकको मृत्यु भएको छ । माडी नगरपालिकाका २७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो ।
उनी भारतबाट करिब दुई साता अघि माडी आएका थिए । उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको शनिबार बिहान करिब साढे १० बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएकाे छ ।
उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर जाँच गर्न स्वाब संकलन गरेर ल्याबमा पठाइएको छ ।
डाेल्पामा मृत्यु भएकाेमा काेराेना संक्रमण
डोल्पामा कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो। यहि जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । उनी लामो समयदेखि दमको रोगले पीडित थिए। पछि उनलाई होम आइसोलेसनमा राखिएको थियो।
होम आइसोलेसनमै रहेका उनको जेठ २० गते मृत्यु भयो । मृत्युपछि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पीसीआर परीक्षणका लागि पठाइएको थियो। शनिबार आएको उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनले जानकारी दिए ।
सुरक्षाका उपाय अपनाई उनको दाह्संस्कार गरेको भएपनि उक्त वडा र छिमेकी गाँउका अधिकांश संक्रमित भएको हुनसक्ने आशंका गरिएको छ । गाँउपालिकाका सबै नाका सिल गरिएको र गाँउ सिल गरिएको गाँउपालिकाले जानकारी दिए।
उनीसँगै १२ जना अन्य नागरिक पनि जगदुल्लामा आएका थिए। उनीहरु हाल क्वारेन्टाइनमा छन्। यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ । जसमध्ये ११ जनाको मृत्युपछि मात्रै संक्रमण रहेको पुष्टि भएको छ।
Categorized in राष्ट्रिय