भुटानका राजा-रानी आज काठमाडौं आउँदै, स्वयम्भु र बौद्ध जाने
Janjati Khabar – Janjati Khabar | २०८१ मङ्सिर २१, शुक्रबार
काठमाडौं- भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज काठमाडौं आउँदैछन्। उनी निजी भ्रमणको सिलसिलामा आज बिहान काठमाडौं आउन लागेका हुन्।
उनी रानी तेत्सुन पेमा वाङचुकसहित करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन्। करिब पाँच घण्टा काठमाडौंमा रहेर उनी फर्किने तालिका छ।
भुटानका राजा काठमाडौं आउने भएपछि सुरक्षा व्यवस्था चुस्त पारिएको छ। उनी काठमाडौं आउने सूचना पाएपछि बुधबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको सुरक्षा प्रबन्धका लागि नेपाली सेनाले रिहर्सलसमेत गरेको थियो।
भुटानका राजा वाङचुक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर सिधै स्वयम्भु जाने कार्यक्रम छ। त्यहाँ पूजापाठ गरिसकेपछि उनी बौद्ध जाने छन्। बौद्धको पूजापाठ पछि उनी फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किने छन्।
काठमाडौंबाट उनी पौने तीन बजे फिर्ता हुने तालिका छ। उनको नितान्त निजी भ्रमण भएकाले कसैसँग भेटघाटको कार्यक्रम तय नभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
Categorized in राष्ट्रिय

