STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

महसुल उठाउन लाइन काट्दै प्राधिकरण

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २९, शुक्रबार

नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले लामो समस्यसम्म महसुल नतिर्ने ग्राहकको लाइन काट्न थालेको छ । बाँकी रहेको महसुल तिर्न सूचना प्रवाह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको तिहारपछि तीव्रगतिमा लाइन काट्न शुरु गरेको हो । गत वर्षको मङ्सिरदेखि नै बक्यौता नतिर्ने ग्राहकको लाइन काट्ने काम शुरु गरिए पनि तिहारपछि दिक्तेल बजारमा मात्रै ४० ग्राहकको लाइन काटिएको केन्द्र प्रमुख रामदिनेशराय यादवले बताउनुभयो । “बक्यौता नतिर्नेमा दिक्तेल बजार र हलेसी भेगका ग्राहक बढी छन्”, उहाँले भन्नुभयो, “पटकपटक आग्रह गर्दा पनि अटेरी गरेकाले अभियान नै चलाएर लाइन काट्न शुरु गरेका हौँ ।” गत वर्षको कात्तिकसम्म रु एक करोड चार लाख ४७६ बक्यौता उठाउन बाँकी देखिएलगत्तै प्राधिकरणले मङ्सिरदेखि बक्यौता उठाउन ताकेता गर्दै आएको थियो । अभियानअन्तर्गत अहिलेसम्म रु ५२ लाख ६१ हजार ७९७ उठेको छ ।प्राधिकरणका अनुसार रु ५१ लाख ८५ हजार ८८१ उठाउन बाँकीे छ । जिल्लामा पहिलेजस्तो महशुल बुझाउन दिक्तेल धाउनुपर्ने अवस्था छैन । तैपनि ग्राहक महसुल तिर्न चासो देखाउँदैनन् । प्राधिकरणले दिक्तेलबाहेक हलेसी र खोटाङ बजारमा मोबाइल काउण्टर स्थापना गरेर मासिक महसुल बुझ्ने गरेको छ । हलेसीमा प्रत्येक महिनाको २८, २९ र ३० गते तथा खोटाङ बजारमा महिनाको २३, २४ र २५ गते महसुल बुझाउने गरेका छन् । ग्राहकलाई महसुल तिर्न सचेत गराउँदै प्राधिकरण अहिले बक्यौता नतिर्ने ग्राहकको लाइन काट्ने, बिग्रिएको मिटरबक्स निःशुल्क फेर्ने र काठेपोल हटाएर फलामे पोल राख्ने काममा लागेको छ । बक्यौता महसुल नतिर्नेमा सबैभन्दा बढी व्यक्ति र औद्योगिक क्षेत्रका ग्राहक रहेका प्राधिकरणले जनाएको छ ।महसुल नबुझाउने संवेदनशील संस्थालाई भने प्राधिकरणले पत्र काटेर बक्यौता बुझाउन अनुरोध गरेको छ । प्राधिकरणले हिउँद÷वर्षा जुनसुकै समयमा पनि विद्युत् अवरुद्ध हुन नदिन प्रसारण लाइनमा पर्ने रुख तथा झाडीसमेत हटाउने काम गरिरहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपामा रहेको सवस्टेशनमार्फत खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा विस्तार गरिएको केन्द्रीय प्रसारण लाइनको विद्युत् यसअघि पटकपटक अवरुद्ध हुने गरेको थियो । उदयपुरको गाईघाटस्थित जलजलेबाट ल्याइएको विद्युत् प्रसारण लाइनमा रहेको १९८ वटा ट्रान्सफर्मरको लोड मिलाउने काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ । तीन वर्षअघिदेखि ३३ केभी क्षमताको विद्युत विस्तार गरिएकामा पछिल्लो समय अवरुद्ध हुनेक्रम हट्दै गएको उपभोक्ताले बताएका छन् । विसं २०५७ जेठ २ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको विद्युत् हालसम्म खोटाङ जिल्लाको साविक ४४ गाविसमा विस्तार भएको छ ।
Categorized in राष्ट्रिय