STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम निस्दीमा

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २२, बुधबार

पूर्वी पाल्पाको निस्दी गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु गरिएको छ । कार्यक्रमअन्तर्गत  गाउँपालिकाका अति विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । सदरमुकाम तानसेनदेखि करीब ७० किलोमिटर पूर्व विकट भेगमा रहेको निस्दी गाउँपालिका वडा नं ७ ज्यामिरेका सरस्वती माध्यमिक विद्यालय र सृष्टि प्राथमिक विद्यालयका दुई सय विद्यार्थीलाई सामग्री वितरण गरिएको हो । 
स्थानीय १८० घरका विपन्न समुदायका बालबालिकालाई झोला, विद्यालय पोशाक, खाजा बाकस,  कापीकलम, सेनेटरी प्याडलगायत सामग्री वितरण गरिएको कार्यक्रम समिति सदस्य देवीलाल लामिछानेले जानकारी दिनुभयो । बालबालिकालाई सामग्री वितरण गर्दै प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य नारायण आचार्यले गाउँपालिका हालसम्म  विद्युत् सेवाबाट वञ्चित हुनुपरेको हुँदा अब छिट्टै  सो सेवा प्रदान गरिने विश्वास दिलाउँदै पढ्न खोज्ने बालबालिकालाई सरकारले कुनै कमी नगराउने बताउनुभयो ।  
  गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले गाउँपालिकाले कार्यविधि नै तयार गरी शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला र  युवा क्षेत्रमा काम गरेको र अब टोल टोलबाट विकासको लहर फैलाउन आफूहरु लागिपरेको जानकारी दिनुभयो । 
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट गाउँपालिकाका ७१ परिवारलाई स्वास्थ्य बीमा गराइदिने, कृषि र पशुक्षेत्र विकासमा प्रत्यक्ष सहयोग गर्ने, सीपमूलक कार्यक्रम सञ्चालन गर्ने, एकल महिला र युवालाई स्वरोजगार बनाउने  तथा किशोरीलाई सेनेटरी प्याडको व्यवस्था गर्नेलगायत १० विषयमा काम गरिरहेको अध्यक्ष सारुले जानकारी दिनुभयो । 
बाबाआमाले सधैंँ मेलापात र मजदूरी गरेर शैक्षिक सामग्री किनिदिने गरेकामा  अहिले स्थानीय सरकारले शैक्षिक सामग्री वितरण गरेकामा खुशी लागेको विद्यार्थी डिलकुमारी आलेले बताइन् । सरस्वती माविका प्रधानाध्यापक टीकाराम ढुङेगानाले शैक्षिक सामग्रीका साथै सरकारले विद्यार्थीलाई दिवाखाजाको व्यवस्था गरिदिए कक्षा छाड्ने विद्यार्थीको सङ्ख्यामा कमी आउने धारणा राख्नुभयो । कार्यक्रम संयोजक गीता भट्टराईका अनुसार विद्यालयमा महिनावारीका बेला पढाइ छाड्ने विद्यार्थीलाई सेनेटरी प्याडले धेरै सहयोग पुगेको तथा गाउँमा दुई छाक टार्न समस्या भएका बालबालिकालाई शैक्षिक सामग्री वितरणले पढाइमा उत्साह जगाउने बताउनुभयो ।
Categorized in राष्ट्रिय