STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मुम्बइमा ‘गान्धी फिल्म फेस्टिबल’ हुने

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १४, मंगलबार

भारतको फिल्मी सहर भनेर चिनिने मुम्बइमा गान्धी चलचित्र महोत्सव ‘गान्धी फिल्म फेस्टिबल’ को आयोजना गरिने भएको छ । भारतका राष्ट्रपिताका रुपमा मानिने महात्मा गान्धीको १५० औँ जन्म जयन्तीको अवसर पारेर यही अक्टोबर २ देखि ६ सम्म मुम्बइमा ‘गान्धी फिल्म फेस्टिबल’ को आयोजना गर्न लागिएको हो । उक्त फेस्टिबलमा महात्मा गान्धीसँग सम्बन्धित चलचित्रहरु राखिने छन्, जस्तो कि श्याम बेनेगलको ‘द मेकिङ अफ महात्मा’, रिचार्ड एटेनबर्गको ‘गान्धी’ ‘गान्धी माइ फादर’ लगायतका केही चलचित्रहरु उक्त प्रदर्शनीमा राखिने भएको महोत्सव आयोजकहरुले जानकारी दिएका छन् । यी दुई चलचित्र राष्ट्रिय चलचित्र विकास संस्थानद्वारा उत्पादित चलचित्रहरु हुन् । त्यसैगरी अर्को चलचित्र ‘गान्धी माइ फादर’ को निर्देशन फिरोज अब्बास खाँले गर्नुभएको हो । महात्मा गान्धी नामबाट सुपरिचित मोहनदाश करमचन्द गान्धीलाई भारतका राष्ट्रपिताका रुपमा यहाँ सम्मान गरिन्छ । उहाँले भारतमा राज गरिरहेका बृटिश सरकारका विरुद्धमा संघर्ष गरेर भारतलाई बेलायती साम्राज्यवादबाट मुक्त गराउन उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले त्यस समयमा शक्तिशाली हतियार र ठूलो सैन्य शक्ति रहेको बेलायती साम्राज्यलाई पनि विना हातहतियार शान्तिपूर्ण रुपमा क्रान्ति गरेर भारतबाट बेलायती शासकलाई लखेट्न सक्ने गरी भारतीय स्वतन्त्रता आन्दोलनको नेतृत्व प्रदान गर्नुभएको थियो । उहाँको त्यो अहिंसात्मक र शान्तिपूर्ण आन्दोलनबाट भारतका मात्र नभएर विश्वकै शान्तिप्रेमी र प्रजातन्त्रमा आस्था राख्ने नागरिकलाई ठूलो प्रेरणा मिलेको थियो । ‘गान्धी माइ फादर’ फिल्ममा महात्मा गान्धीको भूमिका खेल्नुभएका वरिष्ठ कलाकार श्री दर्शन जरिवाला उक्त महोत्सवको प्रमुख अतिथिका रुपमा रहनु हुने बताइएको छ । भोलि बुधबारदेखि हुन लागेको यो महोत्सव सबै सर्वसाधारणलाई पनि खुला गरिएको आयोजकहरुले जनाएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय