मेयर बालेनले तालाबन्दी गरेपछि ढोका फोडेरै गुरागाईं मनपा पसे, मेयरलाई अगाडि आउन उपमेयर डंगोलको चुनौती
Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र २१, बिहिबार
काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा उपस्थित हुने थाहा पाएपछि मेयर बालेन्द्र शाह (बालेन)को निर्देशनमा नगरप्रहरीले उनको कार्यकक्षमा ताला लगाइदियो ।
उनी चढ्ने गाडीमा ह्विललक लगाएर गुरागाईंलाई कार्यालय छिर्न नदिन मुख्य गेटमै नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेको टोली तैनाथ भयो । तीन महिनादेखि तलब नपाएको भन्दै महानगरकै कर्मचारीहरू आन्दोलनमा उत्रिए । कार्यपालिका सदस्य र कर्मचारीहरू गुरागाईंको स्वागतमा बसे ।
करिब साढे ११ बजेतिर गुरागाईं महानगर परिसर पुगे । त्यसपछि वडाध्यक्ष, नगरकार्यपालिका सदस्य र कर्मचारीले नगरप्रहरीको घेरा तोडेर गुरागाईंलाई कार्यकक्षसम्म पुर्याए । ताला लगाइएको कार्यकक्ष परिसरमै पनि नगरप्रहरी र कर्मचारीबीच घम्साघम्सी हुँदा प्रमुख प्रशासकीय अधिकृतको सचिवालयको भित्ता कुच्चिएको छ ।
त्यसपछि महानगरको बोर्ड बैठक हलमा उपमेयर सुनिता डंगोल, कार्यपालिका सदसस्यसहितको अनौपचारिक बैठक बस्यो । त्यसपछि उनीहरूले ढोका फोडेर गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराए ।
बैठकमा बोल्दै डंगोलले हजारौँ कर्मचारी र लाखौँ काठमाडौंवासीले दुःख पाएको बताइन् । “क्यान्सर पीडितलाई पनि हामीले पैसा दिन सकेका छैनौँ । अझै छानबिन गर्नुपर्ने भए गर्ने हो । तर, यो पीडामा राख्नुहुँदैन । यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन,” डंगोलले भनिन् ।
पुरानो बसपार्कस्थित काठमाडौं टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृति गरेको भन्दै गुरागाईंलाई बालेनले अघोषित निलम्बनमा राखेका थिए । बालेनले कार्यालय प्रवेशमै रोक लगाएपछि गुरागाईं गत पुस ८ गतेदेखि हाजिर हुन पाएका थिएनन् ।
महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपानेलाई आर्थिक अधिकार नहुँदा तीन महिनादेखि कुचीकारदेखि, उपमेयर सुनिता डंगोल, मेयर बालेन्द्र शाह (बालेन)सम्मका तीन हजार ६०० जना प्रतिनिधि र कर्मचारीले तलब पाएका छैनन् ।
Categorized in उपत्यका

