STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मेलम्चीको पानी राजधानीमा वितरण

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर २३, शुक्रबार

काठमाडौं - सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण सुरू गरिएकाे छ ।

गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङ्को अन्तिम विन्दुमा यही मङ्सिर १८ गते आइपुगेको पानी सुरुमा सुरुङ सफा गर्न वाग्मतीमा बगाइएको थियो । गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङ्मा जम्मा भएको फोहर सफा गर्न सुरुको पानी वाग्मतीमा बगाइएको मेलम्ची खानेपानी आयोजनाका इञ्जिनीयर रामचन्द्र पौडेलले जानकारी दिए। यही मङ्सिर १९ गतेदेखि नै सुरुङमा पानी भर्न थालिएको थियो ।

केही दिन सुरुङमा भरिएको पानी बिहीबारदेखि महाँकालचौर शाखामा पठाइएको उनले बताए । वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि गत हप्ता मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको थियो । असारदेखि सुरुङ बन्द रहेकाले सुरुमा थोरै पानी परीक्षणका रुपमा पठाइएको छ ।

यो पानी काठमाडौँस्थित सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा एक हप्तामा आइपुगेको हो । आजदेखि भने दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरुङमा हालिने आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । यही मङ्सिर ११ गते आइतबार साँझदेखि हालेको पानीले सुरुमा सुरुङ सफा गरेको थियो । पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले वितरण सञ्जाल निर्माण गरिरहेको छ ।

यो सञ्जालमार्फत आजदेखि राजधानीवासीले फेरि मेलम्चीको पानी पाउने भएका छन् । वर्षामा बाढी आएर सुरुङमार्गमा क्षति गर्ने भएपछि गत असारदेखि मेलम्चीको पानी बन्द गरिएको थियो । विसं २०७७ चैतमा मेलम्चीको पानी अस्थायी रुपमा राजधानी आइपुगेको थियो । विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्चीका संरचना एवं प्रवेशमार्गमा क्षति पुगेपछि २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी राजधानी आइपुगेको थियो ।

Categorized in उपत्यका