लकडाउनमा अपराध : कतै एम्बुलेन्समा गाँजा कतै ट्यांकरमा मदिरा
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २८, बुधबार
काठमाडाैं - कोरोना महामारी र लकडाउनकाे समय अपराधकाे लागि एम्बुलेन्स र तेलकाे ट्यांकरकाे प्रयाेग हुने गरेकाे पाइएकाे छ ।
वीरगन्जमा एम्बुलेन्सबाट ५६ किलो लागु औषध गाँजा बरामद भएको छ । बाराको सिमरास्थित अल्पाइन मेडिकल कलेज टिचिङ अस्पतालको ना ४ च ८५९९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद भएको हो । गाँजासहित तीन जनालाई पक्राउ पनि गरेको छ ।
एम्बलुन्स र गाँजा बुधबार बिहान प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार सो गाँजा पर्साको बहुदरमाई नगरपालिका–५ भौराटारतर्फ लैजान लागिएको थियो ।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका १५ बस्ने सन्चार सिंह वाइवाका छोरा अन्दाजी २३ वर्षीय जितबहादुर वाईवा, सोही ठाउँ बस्ने शोभा सिंह वाइवाको छोरा अन्दाजी २२ वर्षीय दिलबहादुर वाईवा र पर्साको बहुदरमाई नगरपालिका ५ भौराटार बस्ने रामइश्वर महतोको छोरा अन्दाजी ३२ वर्षीय हरिशंकर महतो छन् ।
ट्यांकरमा लुकाएर मदिरा तस्करी
यसैगरी लकडाउनको समयमा तेलको ट्यांकरमा राखेर विभिन्न ब्राण्डका रक्सी तस्करी हुने गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, पर्साले ना २ ख ७३७५ नम्बरको ट्यांकरबाट विभिन्न ब्राण्डका रक्सी बरामद गरेसँगै लकडाउनमा रक्सी तस्करीका लागि प्रयोग भएको नयाँ शैलीबारे खुलेको हो ।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले बुधबार वीरगञ्ज–१६, रजत जयन्ती चोकबाट उक्त ट्यांकरलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले अनुसन्धानका लागि ट्यांकर चालक मकवानपुरका सन्दिप थिङ र सह–चालक राधे बुढाथोकीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ ।
ट्यांकरबाट गोल्डेन ओक ४८, नेपाल आइस वियर २४, सिग्नेचर ३३ र ८८४८ भोड्का २८ पिस बरामद भएको थियो ।
Categorized in अपराध-दुर्घटना