STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लोप भयो असारे मौलिक गीत

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३०, सोमबार

‘हलगोरु झरे खेताली झरे वेंशीको रोपाइँमा, सङ्गी र साथीको झझल्को आउँछ एकलो बेलैमा’।। धान रोपाइँ गर्दा गाइँने यस्ता पुराना मौलिक गीत अहिले सुन्न पाइँदैन । यी मौलिक संस्कृति गाउँघरमा हराइसकेका छन् । पहिले पहिले गाउँघरमा असारे गीत, उवाली गीत गाउने र पञ्चेबाजाको तालमा खेतमा धान रोप्ने चलन थियो । अहिले भने यो परम्परा समुदायबाटै लोप हुन थालेको छ । ‘आज नि रोपाइँ भोलि नि रोपाइँ पर्सी नि जानुछ, एकै र दिन गरेको खेती वर्षदिन खानुछ’।। काम सँगै रङ रमाइलोका साथ कृषकले उत्सवका रुपमा धुमधामले धान रोप्ने गर्थे । अहिले गाउँघरमा कृषिका विभिन्न आधुनिक प्रविधि पुगेसँगै पुरानो मौलिक परम्परा हराउँदै गएको रामपुरका स्थानीय लक्ष्मी तिवारी बताउनुहुन्छ । पञ्चेबाजाको तालमा असारे गीत गाउँका मनका पीडा ब्यथा बेदना सबै हराउने गरेको उहाँले आफ्नो अनुभव सुनाउनुभयो । “असारका भाकामा गीत गाएर धान रोप्दा दिन गएको पत्तो हुँदैनथ्यो, साथीसँग ख्यालठट्टा गर्दै रमाउँदै साँझ मेलो सकाएर घर फर्कंदा थकाइको अनुभूति नै भएन, अहिले पहिले जस्तो रमाइलो हुनै छाड्यो, धान रोप्ने परम्परा”, उहाँले भन्नुभयो । आजभन्दा २० वर्ष पहिले यस क्षेत्रमा पञ्चेबाजाको तालमा असारे गीत गाउँदै रमाइँलोसँग धान रोप्ने परम्परा छ । अहिले यो चलन पूर्णरुपमा हराइसकेको छ । गाउँमा विभिन्न कृषि यान्त्रिकरणको प्रयोग बढ्दै जानु, खेतीयोग्य भूमि घर घडेरीमा परिणत हुनु, युवा जनशक्ति रोजगारीको सिलसिलामा विदेश पलायन हुनुजस्ता कारणले पुरानो मौलिक परम्परा, संस्कृति हराउन थालेको स्थानीवासी ज्येष्ठ नागरिक जयनारायण न्यौपानेले बताउनुभयो । “धान रोपाइँ शुरु हुनुभन्दा एक महीनाअघिदेखि नै आवश्यक सामग्रीको बन्दोबस्त हुन्थ्यो, हलगोरु खेतमा पुगेपछि दिनभर खेतालाले असारे गीत गाउँदै धान रोप्ने, पछिपछि दमार्इंले बाजा बजाउने गर्दा एउटा पर्व जस्तै रमाइलो हुन्थ्यो रोपाइँ, अहिले त एकैछिनमा ट्र्याक्टरले हिलो सकेपछि रोपेर सकिन्छ”, न्यौपानेले भन्नुभयो । गाउँघरमा पालो लगाएर असार र साउन महीनामा दिनभर खेतमा धान रोपाइँ गरिन्थ्यो । अहिले पालो लगाएर धान रोप्ने चलनमा पनि कमी आउन थालेको छ । विशेषगरी महिलाले धान रोप्दा आफ्ना पीडा बेदना पनि गीतका माध्यमबाट व्यक्त गर्ने गर्दथे । घर माइत गर्दा भोगेका सुखदुःखका गाथालाई असारे भाकामा धान रोप्दा गाउने र मलाई शान्त पार्ने गर्थे ‘असारलाई भनी कुटेका चिउरा चैतैमा घुन लाग्यो, छोरीलाई सुख छ भन्थ्याँै बाबा मैलैमा जुन लाग्यो’।।।।।।।।।।।।।।।। असारे गीतलाई कसैले रमाइलोका रुपमा त कसैले माया प्रेम, ख्यालठट्टा, दुःख बेदनाका रुपमा लिइने गरिन्छ । खनजोत गर्न पावर टिलर, मिनिटिलर, ट्र्याक्टरको सुविधा गाउँगाउँमा पुगेपछि खेती गर्ने परम्परामा परिवर्तन आउन पुगेको छ । एक हल गोरुले दिनभर जोतेर सकाउने जमीन ट्र्याक्टरले छोटो समयमा नै सकाउने हँुदा कृषक आधुनिक प्रविधितिर आकर्षित हुन थालेका छन् । यसले गर्दा पनि परम्परागत मौलिक संस्कृति हराउन पुगेको कृषि शाखा रामपुरका प्रमुख रामहरि पाण्डेय बताउनुभयो । कृषकले पछिल्लो समय उत्पादन बढाउनेतर्फ ध्यान दिन थालेकाले पुरानो प्रविधि छाडेर नयाँनयाँ प्रविधि अंगाल्न पुगेका छन् । यसले गर्दा पनि परम्परागतरुपमा चलनचल्तीमा रहेका मौलिक संस्कृति हराउन पुगेका छन् ।
Categorized in सिनेमा