STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विदेशिएका युवा पशुपालनमा आकर्षितः दूधको मूल्यवृद्धि नहुँदा निरुत्साहित

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ५, आइतबार

वैदेशिक रोजगारबाट फर्केपछि माथागढी गाउँपालिका–२ रुप्सेका कृष्णप्रसाद भट्टराईले गाउँमै बसेर पशुपालन व्यवसाय शुरु गर्ने योजना बनाउनुभयो । छिमेकीले दूध बिक्री गरी मनग्य आम्दानी गरेको देखेपछि उहाँले पनि वैदेशिक रोजगारी छाडेर २०७० सालमा उन्नत जातको एउटा गाईबाट व्यवसाय शुरु गर्नुभयो । पछि विस्तारै क्रमिक रुपमा गाईको सङ्ख्या बढाउँदै जानुभयो । गाईपालन व्यवसाय उहाँका लागि आम्दानीको भरपर्दो आधार बन्यो । राम्रै आम्दानी हुन थालेपछि भट्टराइको हौसला झन बढ्दै गयो । “दूधको मूल्य राम्रो पाएपछि महीनामा एक लाखसम्म कमाइ हुने गरेको छ”, भट्टराईले भन्नुभयो । तर अहिले आएर दानाको मूल्य ह्वात्तै बढ्दा उहाँलाई यो व्यवसायप्रति नै निराशा छाउन थालेको छ । एकातिर दानाको मूल्यमा अत्यधिक वृद्धि भएको छ भने अर्कोतिर तीन वर्षअघि नै सरकारले तोकेको मूल्यमा दूध बिक्री गर्नुपर्दा कृषक मारमा परेको भट्टराईको गुनासो छ । “तीन वर्षकै मूल्यमा दूध बिक्री गर्नुपर्ने बाध्यता छ, हरेक सामान वर्षेनी दोब्बरले बढिरहँदा दूधको मूल्य बढ्न सकेन, अब पुनः फर्किएर वैदेशिक रोजगारीमै जाने अवस्था सिर्जना भएको छ”, उहाँले भन्नुभयो । गत वर्ष रु एक हजारमा पाइने दानाको मूल्य अहिले बढेर एक हजार ९५० पुगेको छ । दश वटा दुहुना गाईबाट दैनिक ८० लिटर सम्म दूध बिक्री गरी गत वर्ष मासिक रु एक लाख जति आम्दानी भएकामा सबै खर्च कटाएर ५० प्रतिशत नाफा लिन पाइन्थ्यो । तर अहिलेको अवस्थामा नाफा नै लिन मुश्किल परेको उहाँले बताउनुभयो । त्यसैगरी तिनाउ गाउँपालिका–६ डुम्रेका गोपाल जिसी नाफा लिनै मुश्किल पर्ने अवस्था आएपछि व्यवसाय नै धरापमा पर्न थालेको बताउनुभयो । उहाँको फार्ममा २४ वटा उन्नत जातका गाई छन् । उहाँले दैनिक २०० लिटर दूध बिक्री गर्दै आउनुभएको छ । यो व्यवसायबाट मासिक रु दुई लाख २५ हजार आम्दानी गर्ने जिसीले भन्नुभयो, “अहिले सबै आम्दानी दानामा नै खर्च हुने गरेको छ ।” “तीन वर्षदेखि लगातार एउटै मूल्यमा दूध बिक्री गर्नुपर्ने बाध्यता छ, व्यवसायतिर आकर्षित बनेका यहाँका कृषक दूधले मूल्य नपाएपछि छाड्ने क्रममा रहेका छन्”, उहाँले भन्नुभयो । यस क्षेत्रका कृषकले उत्पादन गर्ने गरेको दूध स्थानीय डुुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले गाउँगाउँमा पुगेर खरीद गर्दै आइरहेको छ । सहकारीले आफ्नै ढुवानी खर्चमा गुणस्तर हेरी गाईको दूध प्रतिलिटर रु ४५ देखि ५५ सम्म र भँैसीको दूध प्रतिलिटर रु ६० देखि ६५ सम्म खरीद गर्ने गरेको छ । कृषकबाट खरीद गरेको गाईको दूध रु ७० र भैँसीको दूध रु ८० सम्ममा सहकारीले बजारमा बिक्री गरिरहेको छ । दैनिक तीन हजार ५०० लिटर दूध सङ्कलन हुने गरेकामा एक हजार ८०० लिटर दूध पोखरा पठाउने गरेको सो सहकारीले जनाएको छ । सहकारीमा ४१ वटा आधिकारिक फार्म दर्ता भई सञ्चालनमा छन् भने दैनिक ५०० कृषकले दूध बिक्री गर्ने गर्छन् । सरकारले अन्य वस्तुको मूल्य वर्षेनी वृद्धि गरिरहेको छ । तर दूधको मूल्य भने तीन वर्ष अगाडिकै कायम छ । गाईपालक कृषकले लागतअनुसारको मूल्य नै नपाइएको रामपुरका अगुवा कृषक जीवनाथ ढुङ्गानाले बताउनुभयो । “व्यवसाय गर्न जाँगर नै हराउँदै गएको छ, दुःखसँग पालनपोषण ग¥यो तर अहिले लगानी उठाउनै मुश्किल पर्न थालेको छ, यसमा सम्बन्धित निकायको ध्यान जाओस्”, उहाँले भन्नुभयो । ढुङ्गानाको आम्दानीको मुख्य स्रोत नै गाईपालन व्यवसाय हो । सात माउ र तीन साना गाई पाल्नुभएको उहाँ दैनिक ३५ लिटर दूध बिक्री गरी मासिक रु ५० हजार जति कमाइ गर्नुहुन्छ । यो कमाइबाट उहाँले आधाभन्दा बढी नाफा लिँदै आउनुभएकामा अहिले दाना चोकरमा नै खर्च गर्न ठिक्क हुने गरेको बताउनुभयो । जिल्लामा दैनिक करीब सात हजार लिटर दूध उत्पादन हुने गरेकामा दुई हजार लिटर दूध पोखरा बजारमा बिक्री हँुदै आइरहेको भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र पाल्पाका प्रमुख डा।चन्द्रबहादुर रानाले बताउनुभयो । कूल ८१ वटा दुग्ध व्यवसायी फार्म जिल्लामा दर्ता भई सञ्चालनमा छन् भने साना ठूला गरेर २०० भन्दा बढी फार्म रहेका छन् । जिल्लामा वार्षिक ५१ हजार १९९ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । “रोजगारीको खोजीमा विदेशिएका युवालाई पशुपालन व्यवसायमा आकर्षित गर्न सकेमा दिगो तथा समावेशी अर्थतन्त्रको विकास गर्न सकिन्छ”, डा रानाले भन्नुभयो, “पशुपालक कृषकको क्षमता अभिवृद्धि गरी आयआर्जन वृद्धि गर्न सक्नुपर्छ ।” “पशुपालक कृषकको लागत घटाई उनीहरूको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनु हाम्रो चुनौती हो, त्यसलाई राज्यले सम्बोधन गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो । पाल्पा जिल्लालाई २०७०÷०७१ को तथ्याङ्कले दूध र मासुमा आत्मनिर्भर जिल्ला देखाउँछ । तर पनि औपचारिक घोषणा भने भएको छैन । जिल्लामा दुग्धजन्य विभिन्न पदार्थ उत्पादन हुने गरेको छ ।
Categorized in राष्ट्रिय