विदेशीको सहयोगमा निर्मित भवन हस्तान्तरण
Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २९, शुक्रबार
योङ लिभिङ फाउण्डेशनको सहयोगमा निर्मित जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ स्थित सरस्वती नमूना माध्यमिक विद्यालय भवन हस्तान्तरण गरिएको छ । करीब रु एक करोडको लागतमा निर्माण भएको आठकोठे भवनको साँचो गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइराला र योङ लिभिङ फाउण्डेशनका नेपाल निर्देशक सुवास सिंहले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन कुमाललाई हस्तान्तरण गर्नुभएको हो ।
फाउण्डेशनको आर्थिक सहयोग र जनश्रमदानमा उक्त भवन निर्माणका लागि शुक्लागण्डकी नगरपालिकाले समेत रु सात लाख सहयोग उपलब्ध गराएको थियो । भवन निर्माणका लागि फाउण्डेशनमा आबद्ध विदेशी नागरिकले श्रमदान गरेका थिए । नयाँ भवन निर्माणपछि विद्यार्थीलाई पठनपाठन गराउन सहयोग पुग्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमालले जानकारी दिनुभयो ।
फाउण्डेशनका नेपाल निर्देशक सिंहले प्रदेश राजधानी पोखराको नजिक रहेर पनि शुक्लागण्डकी नगरभित्रका विद्यालयहरूको अवस्था नाजुक भएकाले नयाँ भवन निर्माण गरिदिएको बताउनुभयो । उहाँका अनुसार फाउण्डेशनले जिल्लामा १६ विद्यालय, वृद्धाश्रम, आमा समूह र महिला सहकारीको भवन बनाउने सम्झौता गरेको थियो ।
सम्झौता अनुसार उक्त नगरपालिकामा नौ विद्यालय, एक वृद्धाश्रम, आमा समूह र महिला सहकारीको भवन, म्याग्दे गाउँपालिकामा तीन, बन्दीपुर गाउँपालिकामा एक, आँबुखैरनी गाउँपालिकामा तीन विद्यालय भवन बनाउने सम्झौता भएको छ । प्रदेशसभा सदस्य कोइरालाले उक्त फाउण्डेशनका स्वयंसेवकको मिहिनेत र लगानीको प्रशंसा गर्दै सबैमा मानव सेवा र सामाजिक सेवाको भावना जागृत हुनुपर्नेमा जोड दिनुभयो ।
सन् २००९ मा अमेरिकाका डा गेरी योङले स्थापना गर्नुभएको सो फाउण्डेसनले विश्वका विभिन्न मुलुकमा सेवा गर्दै आइरहेको छ । फाउण्डेशनमा आबद्ध अधिकांश मुलुकका ३० लाखभन्दा बढी सदस्यले विश्वका गरीब जनता र विकासोन्मुख मुलुकमा पुगेर सहयोग गर्दै आइरहेको छ ।
विसं २०७२ वैशाख १२ मा गएको गोरखा भूकम्पपछि क्षतिग्रस्त संरचना पुनःनिर्माणमा सघाउन उक्त फाउण्डेशन नेपालमा प्रवेश गरेको थियो । भूकम्पलगत्तै फाउण्डेशनका संस्थापक गेरीले दोलखाको क्षतिग्रस्त यार्सा गाउँ पुगेर भूकम्पपीडितलाई न्यानो कपडा र सिरक वितरण गर्नाका साथै त्यहाँका बासिन्दाको पीडामा मल्हम लगाउन गाउँको पुनःनिर्माण गरेको थियो । विसं २०७३ मा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग पुनःनिर्माणका लागि रु नौ करोड खर्च गर्ने सम्झौता गरेको फाउण्डेशनले दुई वर्षको अवधिमा ९९ घर र एउटा विद्यालय निर्माण गरी हस्तान्तरण गरिसकेको छ ।
Categorized in राष्ट्रिय


