STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विनाशकारी भूकम्पपछिका ६ वर्ष : कति सकिए पुनर्निर्माण

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १२, आइतबार

विस. २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण भत्किएको धरहराको ६ वर्ष पुग्न एक दिन बाँकी छँदा प्रधानमन्त्री केपी ओलीले शनिबार यसको उद्घाटन गरे । रानीपोखरीको निर्माण सम्‍पन्‍न भइसकेको छ ।

रानीपोखरीको निर्माण सम्पन्न र धरहराको उद्घाटन गरिएको कामलाई सरकारले मुख्य उपलब्धिका रूपमा लिएको छ । भूकम्पबाट भत्किएका संरचनाको पुनर्निर्माण र नवनिर्माणमा जुट्ने अभियान सरकारले २०७२ सालबाटै अघि बढाएको थियो ।

पुनर्निर्माणको काम पूर्ण रूपमा पाँच वर्षभित्र सक्ने लक्ष्य तत्कालीन अवस्थामा राखिएको थियो । त्यसैका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन गरियो ।

पाँच वर्षभित्र पुनर्निर्माणका काम सक्न भनेर गठन गरिएको प्राधिकरणमा पाँच पटक प्रमुख कार्यकारी अधिकृत फेरिए । प्राधिकरण स्थापना भएको ६ वर्ष सकिँदा पनि पुनर्निर्माणका काम सकिएका छैनन् ।

अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७५४ लाभग्राहीमध्ये घर पुनर्निर्माण सुरु गरेका कूल लाभग्राहीको संख्या ७ लाख ५३ हजार १०४ अर्थात् झण्डै ९३ प्रतिशत पुगेको प्राधिकरणको तथ्यांकले देखाएको छ । यसमध्ये अहिलेसम्म २२ प्रतिशतले तेस्रो किस्ता लगेका छैनन् ।

क्षतिग्रस्त ९२० सम्पदामध्ये ४९३ वटाको पुनर्निर्माण सम्पन्न भएको जनाइएको छ । २८८ वटा पुनर्निर्माणको काम जारी छ । भूकम्पबाट क्षतिग्रस्त कूल ७ हजार ५५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको र १७ प्रतिशत विद्यालय पुनर्निर्माणकै क्रममा रहेको जनाइएको छ । कूल ४१५ सरकारी भवनमध्ये ९० प्रतिशतको पुनर्निर्माण सम्पन्न भएका छन् ।

प्राधिकरणमार्फत निर्माण भइरहेका सुरक्षा निकायका २१६ वटा संरचनामध्ये २१४ को पुनर्निर्माण सम्पन्न भएको छ । विभिन्न जिल्लामा ७६२ किमी सडक पुनर्निर्माण गर्नुपर्नेमा ५२५ मात्रै सकिएको छ ।

६ वर्षको अवधिमा तीन खर्ब ५७ अर्ब रुपैयाँ खर्च भएको प्राधिकरणको तथ्यांक छ । जसमध्ये आर्थिक वर्ष २०७२/७३ मा २२ अर्ब ४७ करोड खर्च भएको थियो ।

त्यसपछिको चार आर्थिक वर्षमा क्रमशः ४९ अर्ब ६९ करोड, एक खर्ब १४ अर्ब ७८ करोड, ८९ अर्ब ४३ करोड र ५२ अर्ब ४९ करोड खर्च भएको छ भने चालू आर्थिक वर्षको चैत मसान्तसम्म २८ अर्ब १५ करोड रुपैयाँ बजेट सकिएको पुनर्निर्माण प्राधिकरणको तथ्यांक रहेको छ ।

भूकम्पपछि तत्काल राष्ट्रिय योजना आयोगले भूकम्पपछिको पुनर्निर्माण गर्न लाग्ने खर्चको अनुमान गरेको थियो । उसले सात खर्ब हाराहारीको क्षति भएको प्रक्षेपण गरेको थियो । क्षति ५ खर्ब १३ अर्ब, गुमेको १ खर्ब ८७ अर्ब र पुरानै अवस्थामा लैजान ६ खर्ब ६६ अर्ब लागत लाग्ने अनुमान गरिएको थियो ।

यति ठूलो रकम जुटाउनका लागि तत्कालीन अर्थमन्त्री रामशरण महतको सक्रियतामा भूकम्प गएको तीन महिनापछि नेपालमा ठूलो दाता सम्मेलन गरियो । त्यतिबेला चार खर्ब १० अर्ब रुपैयाँ दाताबाट सहयोग प्रतिबद्धता आएको थियो ।

हालसम्मको तथ्यांकमा ६७ अर्ब राहत, उद्धार एवं अन्य कार्यक्रममा दाताको रकम खर्च भएको देखिएको छ । भारतीय एक्जिम बैंकतर्फको ४९ अर्ब रुपैयाँ नेपाल सरकारतर्फ स्रोतान्तर भएको प्राधिकरणको तथ्यांक रहेको छ ।

यसबाहेक वास्तविक प्रतिबद्धता रकम जम्मा २ सय ९४ अर्ब रुपैयाँ मात्र रहेको छ । २ सय ४३ अर्ब रुपैयाँका लागि सम्झौता भई स्रोत सुनिश्चितता भएको छ तर रकम भने आएको छैन । प्राधिकरणले गैरसरकारी संस्थाहरूसँग करिब ९० अर्ब रुपैयाँ परिचालनका लागि सम्झौता गरेका छन् भने ७२ अर्ब रुपैयाँ परिचालन भएको जनाएको छ ।

Categorized in राष्ट्रिय