शाकाहारी खाना प्रवर्द्धन गर्न तीन शहरमा ‘हिमालयन भीगन महोत्सव–२०७९’ हुने
Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र ७, मंगलबार
काठमाडौं - शाकाहारी खानाको प्रवर्द्धन गरी स्वदेशी तथा विदेशी पर्यटन आकर्षण गर्ने उद्देश्यले हिमालय क्षेत्रको प्रथम शाकाहारी महोत्सव ‘हिमालयन भीगन महोत्सव–२०७९’ नेपालको तीन प्रसिद्ध शहरहरु काठमाडौं, पोखरा र लुम्बिनि मा आयोजना हुने भएको छ ।
वर्ल्ड भीगन अर्गनाइजेशन नेपालको आयोजनामा आगामी भदौ २८ देखि असोज ४ गतेसम्म महोत्सव गर्न लागिएको कुरा सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
यो महोत्सव लुम्बिनीमा भदौ २८ र २९ गते, काठमाडौंमा भदौ ३० र ३१ गते तथा असोज १ गते काठमाडौं तथा पोखरामा असोज २, ३ र ४ गते आयोजना हुनेछ ।
भीगन जीवनशैली प्रवर्द्धन गर्ने लक्ष्यका साथ नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय महोत्सव आयोजना गर्न लागिएको संस्थाका महासचिव अजित थापाले बताए । उनले विश्वमा हाल भीगन पर्यटनको सम्भावना बढिरहेको सन्दर्भमा नेपालमा पनि यसको सम्भाब्यताबारे सचेतना फैलाउन कार्यक्रम उपयोगी हुने उनले उल्लेख गर्नुभयो ।
महोत्सवमा भारत, पाकिस्तान, इण्डोनेशिया, अमेरिकालगायत ३२ देशका प्रतिनिधिहरुको सहभागिता रहने बताइएकोछ । भीगन पर्यटन बढ्न सके यस क्षेत्रमा लगानी बढ्नुका साथै ‘फुड कल्चर’ को प्रवर्द्धनमा समेत सहयोग पुग्ने आयोजकको विश्वास छ । ननडेरी भेजिटेरियनको रुपमा लिइने भीगनलाई ऋषिमुनिहरुको खाना पनि भनिन्छ ।
महोत्सवले हिमालय क्षेत्रमा विशुद्ध शाकाहारी जीवनशैलीको ज्ञान तथा सचेतना प्रचारप्रसार गरी यसको फाइदाको बारेमा सर्वसाधरणलाई ज्ञान दिनुका साथै विशुद्ध शाकाहार, अहिंसा, करुणामय जीवन अभ्यासी तथा जनावर संरक्षणकर्ताबीच सम्बन्धी विस्तार हुने जनाइएको छ ।
महोत्सवको आकर्षणका रुपमा एक सयभन्दा बढी अन्तर्राष्ट्रिय ख्याति प्राप्त वक्ता र सेलीब्रिटीको सहभागिता रहनेछ । ७५ भन्दा बढी सूचनामूलक प्रदर्शनी, भीगन खानका बिक्री कक्ष, भीगन प्रतियोगिता, राष्ट्रिय र अन्तर्राष्ट्रिय सेफहरुद्वारा पाक शिक्षा प्रदर्शनीलगायत शाकाहार विषयमा केन्द्रित चलचित्र महोत्सव समेत हुने कार्यक्रम रहेको छ ।
Categorized in राष्ट्रिय

