शिक्षा, स्वास्थ्य र रोजगारमा आमूल परिवर्तनका साथ कृष्णमान डंगोल कीर्तिपुरको मेयर उम्मेदवार हुन इच्छुक
Janjati Khabar – LALENDRA SHAKYA | २०८१ भाद्र १९, बुधबार
कीर्तिपुर/मंसीर महिनामा हुने स्थानीय तहको उप–निर्वाचनमा कीर्तिपुर नगरपालिकाका लागि नेपाली कांग्रेसबाट मेयर पदका आकांक्षी उम्मेदवार कृष्णमान डंगोलले समग्र कीर्तिपुरमा प्रभावकारी शिक्षा, स्वास्थ्य र युवा रोजगारमा आमूल परिवर्तन गर्ने योजना रहेको बताएका छन् ।
धेरै पटक मेयर उम्मेदवार हुनबाट चुकेका डंगोल नेपाली कांग्रेस कीर्तिपुर नगर सभापति पनि हुनुहुन्छ ।
शिक्षा र संगीत क्षेत्रमा आबद्ध कृष्णमान डंगोलले थुप्रै वर्ष नेपाली कांग्रेसमा आबद्ध भई कहिले सचिव त कहिले नगर सभापतिको रुपमा स्वच्छ एवं निष्पक्ष ढंगले कीर्तिपुर नगर क्षेत्रमा योगदान गरिरहनु भएको छ ।
गएको स्थानीय तहको निर्वाचनमा पनि मेयर उम्मेद वारको रुपमा कृष्णमान डंगोलको नाम चर्चामा आएको थियो, सहानुभूतिको रुपमा दिवंगत कीर्तिपुर नगरका मेयर राजकुमार नकर्मीलाई मेयर पदको टिकट दिई विजयी गराउन नेपाली कांग्रेस कीर्तिपुर सभापति कृष्णमान डंगोल सफल हुनुभएको थियो ।
अब हुन लागेको उप–निर्वाचनमा डंगोलले आफू मेयर उम्मेदवार हुने आकांक्षा राख्नु भएको छ, पार्टीबाट टिकट दिन्छ कि दिँदैन त्यो पार्टीको निर्णयमा भर पर्दछ । नेपाली कांग्रेसभित्र कीर्तिपुर नपाको मेयर पदका लागि आकांक्षी उम्मेदवारको रुपमा दिवंगत मेयर राजकुमार नकर्मीकी जहान जमुना नकर्मी, क्रियाशील नेता राममान सिंहको नाम पनि चर्चा परिचर्चामा छन् । विकासका लागि पार्टीले सही नेतृत्व रोज्नु पर्दछ ।
Categorized in राजनीति

