काठमाडाैं – कोरोना भाइरसको महामारी फैलिइरहेका बेला काठमाडौं उपत्यका जोखिम कम गर्न मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गरिने भएको छ ।
शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र उद्योग वाणिज्य संघ, सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य कार्यालयका प्रमुखसहितको बैठकले कडिकडाउकाे निर्णय गरेको हो ।
यसका साथै संक्रमण देखिएका स्थानहरु सिल गर्ने निर्णय पनि बैठकमा भएकाे छ । यसै निर्णयअनुसार काठमाडाैंकाे टेकु र महाबौद्ध क्षेत्र सिल गर्ने काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा रोक्ने भएको छ ।
यस्तै, तीन वटै जिल्लामा रहेका क्वारेन्टिन र आएसोलेसन पनि थप सुरक्षित बनाउने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यलयबाट हुने केही विशेष कामबाहेकका सेवा बन्द हुने छ । जिल्ला प्रशासन कार्यलयबाट सार्वजनिक मुद्दा, पास वितरण र शान्ति सुरक्षाको काममात्रै हुने काठमाडौंका प्रजिअ दाहालले जानकारी दिनुभयो ।
बैंठकले स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइको साथ पालना गराउने र स्थानीय तहहरुलाई कोरोना महामारीबाट बच्नको लागि तयारी अवस्थामा रहन आग्रह गर्ने निर्णय पनि गरेको दाहालले जानकारी दिनुभयो ।
काठमाडौं उपत्यकामा सरकारी कार्यालय, सुरक्षा निकाय तथा बैंकको कर्मचारीहरुमा संक्रमण बढ्दै गएको छ । संक्रमणको दर बढेको र त्यसमा पनि सरकारी कार्यालयहरुमा बढी देखिन थालेपछि यस्तो सरकारले उच्च सुरक्षा सतर्कता अपनाउन भनेको छ ।
सरकारले जिल्ला प्रशासन, सुरक्षा निकाय तथा नागरिकलाई पनि सुरक्षाको उच्च सतर्कता अपनाउन गरेको निर्देशन र संक्रमितको अवस्थालाई हेरेर यो निर्णय गरिएको दाहालले बताउनुभयो । सरकारी कार्यालयबाट हुने अत्यावश्यक बाहेकका सेवा बन्द रहने छन्, भने आंशिक कार्यालय खोलेर अत्यावश्यक सेवाहरु दिने निर्णय भएको हो ।
Categorized in राष्ट्रिय