STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सगरमाथाको हिमनदी पग्लिने क्रम बढ्दो

Janjati Khabar – एजेन्सी | २०७८ माघ २२, शनिबार

माघ २२, काठमाडौं - सगरमाथाको उच्च भागमा रहेको हिमनदी (साउथ कोल ग्लासियर) पग्लिने क्रम बढेको अध्ययनकर्ताहरुले बताएका छन् ।

अमेरिकाको मेइन विश्वविद्यालयले नेतृत्व गरेको शोधकर्ताहरूको टोलीले गरेको अध्ययन अनुसार पछिल्लो २५ वर्षमा साउथ कोल हिमनदीको एक सय ८० फिटभन्दा धेरै हिउँ गुमेको पाइएको बीबीसीले जनाएको छ ।

जलवायु परिवर्तनको असरका कारण हिमनदी तीव्र गतिमा पग्लिरहेको पाइएको प्रतिवेदनमा उल्लेख छ । २५ हजार ९३८ फिटको उचाइमा रहेको साउथ कोल हिमनदी बनेको बेलाभन्दा अहिले ८० गुणा बढी पातलिएको अध्ययन टोलीको निष्कर्ष छ ।

सन् १९९० देखि हिमनदीको बरफ पग्लिन थालेको र ३० वर्षको अवधिमा यसअघि दुई हजार वर्ष लागेर बनेको बरफ पग्लिसकेको प्रतिवेदनमा उल्लेख छ ।

१० जना वैज्ञानिकहरूको टोली हिमनदीमा पुगेर अध्ययन गरेका हुन् । अध्ययन टोलीले विश्वकै सबैभन्दा अग्लो मौसम मापन गर्ने स्टेसन स्थापना गर्नुका साथै बरफको नमुना ल्याएका छन् ।

बाक्लो हिउँ पग्लिएपछि सगरमाथाको माथिल्लो भेगमा कालो पहाड देखिन थालेको अध्ययन टोलीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

Categorized in राष्ट्रिय