STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सञ्चारकर्मी सुरेश रजकलाई सहिद घोषणा गर्नुपर्ने मागसहित धर्ना

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ चैत्र १७, आइतबार

सञ्चारकर्मी सुरेश रजकलाई सहिद घोषणा गर्नुपर्ने मागसहित धर्ना

नेवाः पत्रकार राष्ट्रिय दबूले राजावादीको प्रदर्शनमा मारिएका सञ्चारकर्मी सुरेश रजकलाई शहिद घोषणा र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन सरकार समक्ष माग गरेको छ ।

सञ्चारगृहमाथि भएको आक्रमण र सञ्चारकर्मी मारिएको विरोधमा पत्रकार राष्ट्रिय दबूले आईतबार वसन्तपुरस्थित महादेव पार्वती डबलीमा धर्ना दिई सो माग गरेका हुन्।

धर्नामा विभिन्न वक्ताहरुले राजावादीको कथित आन्दोलनको नाउँमा तीनकुनेमा भएको अराजक तथा हिंसात्मक गतिविधिमा सञ्चारकर्मी मर्ने र सञ्चारगृहमाथि भएको आक्रमण हुँदा पनि गृह प्रशासन जिम्मेवार तवरले पेश नभएकोमा आलोचना समेत गरेका थिए। घटनाको उचित छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग पनि उनीहरुले राखेका थिए ।

सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले प्रदर्शनमा भएको अराजक गतिविधिको निन्दा गर्दै सञ्चारगृह र सञ्चारकर्मी मारिएकोमा दुःख व्यक्त गर्नुभयो। 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिव समिर बलामीले जुनसुकै आन्दोलनको निशाना आदिवासी जनजाति भएको उल्लेख गर्दै सरकारलेे चैत्र १५ गते भएको प्रदर्शनमा मृतक हुनेलाई सहिद घोषणा गर्दै परिवारप्रति संवेदनशील भई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभयो। उहाँले पत्रकार मारिएको विषयमा गृह मन्त्रालय जवाफदेही बन्न पनि आग्रह गर्नुभयो।

धर्नामा मिडिया एलाईन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारले सञ्चारकर्मी सुरेश रजक मारिएकोमा दुःख व्यक्त गर्दै यस विषयमा सरकारले सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष छानबिन आयोग गठन गर्न माग गर्नुभयो। 

मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले शुक्रबार तीनकुनेमा भएको घटनामा सरकार मुकदर्शक बनेको आरोप लगाउँदै सरकारले घटना लुकाउन खोजेको भन्दै त्यसको सत्यतथ्य बाहिर ल्याउन न्यायिक छानबिन समिति गठन गर्न माग गर्नुभयो ।

मृतक सञ्चारकर्मीका परिवारको तर्फबाट राजेन्द्र रजकले तीनकुनेको घटना सरकार आफ्नो न्युनतम दायित्वबाट बञ्चित भएर घटनाको तथ्य बंग्याउन खोजेको बताउँदै पीडित परिवारप्रति उचित क्षतिपूर्ति प्रदान गर्न माग गर्नुभयो।

सो अवसरमा पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले निरंकुश सत्ताको निशाना सञ्चारगृह र सञ्चारकर्मी हुने तथ्य कुनै नौलो नभएको सन्दर्भ जोड्दै घटनामा अनेक प्रश्नहरु अनुत्तरित रहेकोले त्यसलाई बाहिर ल्याउन बलियो आयोग गठन गर्न माग गर्नुभयो।गृहप्रशासनले आन्दोलनमा मारिने सविन महर्जन र सञ्चारकर्मी रजक परिवारसमक्ष पुगेर पीडित परिवारप्रति मल्हम लगाउने र  क्षतिपूर्ति दिन प्रतिबद्धता देखाउने काम नगरेको पनि उहाँको भनाई थियो।

सो अवसरमा पत्रकार राष्ट्रिय दबूका संस्थापक अध्यक्ष श्रीकृष्ण महर्जन, महासचिव के के मानन्धरले तीनकुनेमा भएका अराजक घटना सुनियोजित रहेको बताउँदै त्यसमा गृह प्रशासन चुकेकोमा दुःख पोख्नु भयो  ।

Categorized in राष्ट्रिय