STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सन्दीप लामिछानेले बलात्कार गरेको ठहर, ७ देखि १० वर्ष सजाय हुनसक्ने

Janjati Khabar – Janjati Khabar | २०८० पौष १३, शुक्रबार

बलात्कारको मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्। 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले उनलाई दोषी ठहर गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए। सन्दीपलाई कति वर्ष जेल सजाय गर्ने भन्नेबारे निर्णय गर्न भने अदालतले अर्को पेशी तोकेको छ।

इजलासले उनलाई गौशाला २६ पीडितको आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर करणी गरेको ठहर गरेको छ।  त्यस्तै पीडित नाबालिग भनिएको दाबी पनि अदालतले विभिन्न कागजातको आधारमा अस्वीकार गरेको छ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने न्यायाधीशले फैसला गरेका हुन् । यो व्यवस्था अनुसार लामिछानेलाई ७ देखि १० वर्ष जेल सजाय हुनेछ ।

सन्दीपले पीडितको नाजुक आर्थिक अवस्थाको फाइदा उठाए  

जिल्ला अदालतले काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दा दायर गर्ने गौशाला-२६ लाई बालिग ठहर गरेको छ ।

तर, उनीसँग सहमतिबिना शारीरिक सम्बन्ध राखेको भन्दै न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई दोषी मानेका छन् ।

अदालतको फैसलामा गौशाला २६ को नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाएर सन्दीपले शारीरिक सम्बन्ध राखेको दलिल गरिएको छ । यसकै आधारका बलात्कार ठहर्याइएको हो ।

१८ वर्षभन्दा मुनिको भएमा सहमतिको सम्बन्ध पनि बलात्कार मानिने कानून छ भने १८ वर्षभन्दा माथिको लाई जबरजस्ती करणी गरेमा बलात्कार मानिन्छ । सन्दीपले जबरजस्ती करणी गरेको न्यायाधीशले निष्कर्ष निकालेका छन् ।

Categorized in अपराध-दुर्घटना