STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्थायी लेखा नम्बर लिनेको सङ्ख्यामा वृद्धि

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १६, बिहिबार

आन्तरिक राजश्व कार्यालयबाट दुई हप्ताको अवधिमा एक हजार २०० भन्दा बढीले व्यक्तिगत स्थायी लेखा नम्बर पान लिएका छन् । आर्थिक वर्ष ०७६÷७७ देखि कुनै पनि कार्यालय वा स्थानमा सेवा गरी तल,भत्ता, ज्याला वा पारिश्रमिक लिने व्यक्तिले अनिवार्यरुपमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था गरेसँगै राजश्व कार्यालयमा यतिबेला सेवाग्राहीको भीड लागेको हो । साउन १ गतेदेखि १४ गतेसम्म कार्यालयबाट १ हजार २१७ ले व्यक्तिगत स्थायी लेखा नम्बर लिएको कार्यालयका प्रमुख सूर्यप्रसाद सेढाईंले जानकारी दिनुभयो । आर्थिक वर्ष ०७६÷७७ देखि लेखा नं नभएका श्रमिकलाई वितरण गरिने पारिश्रमिक वा ज्यालामा स्थायी लेखा नम्बर उल्लेख नगरिए रु एक हजारभन्दा बढी मूल्यको बिजकबापतको खर्च कट्टि गर्न नपाउने नियम लागुभएसँगै व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको सङ्ख्या बढेको उहाँले जानकारी दिनुभयो । प्रमुख सेढाईंका अनुसार सोही अवधिमा ६१४ जनाले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् । व्यक्तिगत र व्यावसायिक गरी साउनको दोस्रो सातासम्म एक हजार ८३१ ले स्थायी लेखा नम्बर लिएका थिए । “गत आर्थिक वर्षमा दैनिक १०० को हाराहारीमा स्थायी लेखा नम्बर लिने सेवाग्राही रहेकामा साउनदेखि भने दैनिक २००÷३०० ले स्थायी लेखा नम्बर लिने गरेका छन्”, उहाँले भन्नुभयो । स्थायी लेखा नम्बर लिन कार्यालयमा सेवाग्राहीको भीड बढेको र दरबन्दीअनुसारको कर्मचारी सङ्ख्या नभए पनि सहजरुपमा कार्यालयले सेवा प्रवाह गरिरहेको प्रमुख सेढाईंले बताउनुभयो । कार्यालयबाट तनहुँ, गोरखा, लमजुङ र मनाङका सेवाग्राहीले व्यक्तिगत र व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् । कार्यालयको तनहुँसहित चार जिल्ला कार्यक्षेत्रमा पर्छ । उक्त कार्यालयमा हालसम्म ३९ हजार २३३ करदाता रहेकामा आयतर्फ २६ हजार २६७, मूल्य अभिवृद्धितर्फ दुई हजार ७७३, अन्तःशुल्कतर्फ दुई हजार १४६ र व्यक्तिगततर्फ आठ हजार २९ जना करको दायरामा आइसकेको कार्यालयले जनाएको छ । करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउन करशिक्षा, कर जागरणलगायत कार्यक्रम सञ्चालन हुँदै आएको छ । विसं २०६९ वैशाख ९ गते करदाता सेवा कार्यालयका रुपमा स्थापना भएको कार्यालय विसं २०७५ असार २० गते आन्तरिक राजश्व कार्यालयका रुपमा स्तरोन्नति भएको थियो ।
Categorized in राष्ट्रिय